शुक्रबार, १४ कार्तिक २०७७
samadhannews
Baba Hardware Header add

तिम्रो हात जोगाए पनि तिमीलाई बचाउन सकिएन

शुक्रबार, ०९ असोज २०७७

प्राडा बुद्धिबहादुर थापा

सिकन्दर !

तिम्रो उपचारमा आजीवन संलग्न भए पनि समय र परिस्थितिले गर्दा तिम्रो जीवनको अन्तिम घडीमा उपचारका लागि म सरिक हुन सकिनँ । अस्ति मात्र हाम्रो धार्मिक परम्परा अनुसार तिम्रो घर भेटी लिएर गएको थिए ।

शोकाकुल अवस्थामा रहेकी बहिनीलाई भेटे । अन्य इस्टमित्रसँग पनि भेट भयो । घर पस्नेबित्तिकै र माथिल्लो तलामा तिम्रो उज्यालो भर्खरै ‘दाइ भन्दै’ बोलाउलाजस्तै अनुहार हेर्दा आजभन्दा ३५ वर्षको तिम्रो र मेरो भेट भएको अतितको त्यो रातको मलाई सम्झना भयो ।

२०४२ सालतिरको कुरा हो । म भर्खर एमबिबिएस सकेर सर्जरी विभागमा मेडिकल अधिकृत थिएँ । डा. साधुराम पाण्डे मेरो गुरु अग्रज सर्जन भर्खरै मात्र भारतको चण्डीगडबाट जनरल सर्जरीमा एमएस गरेर आउनुभएको थियो । त्यति बेलाको सम्झना गर्दा र हालको अवस्था हेर्दा मलाई अचम्म लाग्छ ।

सधै २४ सै घन्टा ड्युटीमा रहन्थे । राति वार्डबाट ड्युटी डाक्टर बोलाउन कहिले कार्यालय सहयोगी कहिले त सिस्टर नै क्वाटरमा आउनुपर्ने हुन्थ्यो । अहिलेजस्तो फोन थिएन मोबाइलको त कुरै नगरौं।

बेहोस पार्नका लागि इथर ग्यासको प्रयोग गर्नुपर्ने हुन्थ्यो । बेहोस गर्ने काम डाक्टरबाट नभई सिस्टर र कार्यालय सहयोगीबाट हुन्थ्यो । म दिनभरिको ड्युटीपछि राीि सधै अनकलड्युटीमा हुन्थें ।

त्यो दिन राति तिमी सल्यानबाट आफ्नो पुर्खौली घर भदौरे तामागी आउँदै गर्दा बाटोमा तिमीमाथि सांघातिक आक्रमण भएछ । हालकोजस्तो यातायात सुविधा नभएको हुँदा त्यतिखेर फेदीसम्म मात्रै गाडी चल्थे ।

इमरजेन्सीबाट कल आयो र म तुरुन्तै अस्पताल पुगे । तिम्रो त्यो गम्भीर अवस्था देख्दा एकछिन आत्तिएँ । आवश्यक व्यवस्थापन गरी वार्डमा भर्ना गरे ।

त्यो छिया छिया भएको हात सम्झदै म मेरो अग्रज सर्जन डा. साधुराम पाण्डेको क्वाटरमा गएँ । सधैं इमरजेन्सी र वार्डका बिरामीहरुको राउन्ड गरी उहाँलाई घरमा खबर गर्ने त मेरो दैनिकी नै थियो ।

तिम्रो छियाछिया परेको हातको बारेमा उहाँलाई मेडिकल भाषामा वृतान्त बुझाएपछि अपरेसन कोठामै सबै निर्णय गरौंला भन्दै हामी त्यसतर्फ लाग्यौं । अहिलेको स्वीकृत ५ शय्याको अस्पतालमा ३ सय ७० बेड चालु अवस्थामा छ । त्यो बेला त जम्मा ५० शय्याको गण्डकी अञ्चल अस्पताल थियो । सर्जिकल, अर्थो, इएनटी, अपरेसन थिएटर सबै भूइँतलामा थिए ।

जहाँ अहिले अर्थाे वार्ड छ । अपरेसन कोठामा तिमीलाई हेरेर कसरी अगाडि बढने निर्णय गर्न नै गाह्रो भइरहेको थियो । हातको अघिल्लो भागको मांसपेसी, स्नायु र रक्तनली कति क्षतविच्छेद भएका छन् छुट्याउनै गाह्रो भइरहेको थियो । औंलाहरु रक्तसञ्चार नभएर निला र चिसा हुन लागेका थिए ।

एकछिनको प्रयासपछि सुधार हुने अवस्था नदेखेपछि डा. पाण्डेले कुहिनोमुनि बाट हात काट्ने विचार लिनुभयो । यो सुनेर म एकदम दुखित भए । भर्खरको यो खाइलाग्दो उमेरमा हात काटेपछि बाँकी जीवन कसरी धान्ने भन्ने सोचले मलाई पिरोलिरहयो । डराइडराइ भनें, ‘भर्खरको युवक छ प्रयास गरौं काट्नै परे भोलि सोचौंला’ ।

रातभरको प्रयासपछि अप्रेसन सकियो । भोलिपल्ट बिहानै वार्डको राउन्ड जाँदा सबभन्दा पहिला तिमी भएको वार्डमा गयाैँ । औंलाहरु हेर्‍यौं । निलो रंग हराएको थियो र औंलाहरु पनि अलिअलि चल्न थालेकाले हाम्रो खुसीको सीमाना रहेन । तिमी त खुसी नहुने कुरै भएन । त्यो बेलाको परिस्थितिमा यो हाम्रो ठूलो सफलता थियो ।

तिमीलाई धेरै माया गर्ने सर्जिकल वार्डको सिस्टर सरीता गुरुङ दिदी र फिजियोथेरापी विभागका विजय प्रधान सर पनि खुसी हुनुभयो । तिम्रो हातको चोट र घाउ यति गहिरो र गम्भीर थियो कि यसले तिमीलाई दिएको असहनीय पीडा र दुखाइ हामी अनुभव गर्न सक्थ्यौं ।

राउन्ड पछि घाउको डे«सिङ र हातका औंलाहरुको फिजियोथेरापी गर्दा तिमी जस्तो बहादुर युवक पनि धुरुधुरु रुँदै बिलौना गर्थ्याै । त्यतिखेर दुखाई कम गर्ने राम्रो औषधीका पनि कमी थियो । हामीले दुखाइ कम गर्न दिएको औषधी (डाइजेपाम, फोर्टबिन र प्याथिडिन) जस्ता औषधीले तिम्रो दुखाइ कम त गथ्र्याे साथै लठयाउँथ्यो पनि ।

त्यसकारण अस्पतालबाट डिस्चार्ज भएपछि पनि तिमीले यी औषधीहरुको प्रयोग गर्नुपर्ने वाध्यता भएको हामीलाई मात्रै थाहा छ ।

त्यतिखेर म मुस्ताङ अस्पताल जोमसोमबाट पोखरा काजमा आएको थिएँ । एसएलसीपछि विज्ञान विषय पढ्न काठमाठौंको अमृत साइन्स क्याम्पस गएको हुँदा यहाँ पोखरामा धेरै जनासँग चिनजान पनि थिएन ।

तिमीलाई भेट्न आउनेहरुमा विभिन्न क्षेत्रका राजनीतिकर्मी, विद्यार्र्थी, पत्रकार र समाजसेवी हुनुहुन्थ्यो भन्ने सुनेको थिएँ। मेरो मानसपटलमा कता कता नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति शुक्रराज शर्मा र पूवसभामुख तारानाथ आउनुभएको जस्तो लाग्छ ।

त्यसपछि बाँकी समय गुज्रदै गयो । बेलाबेलामा अक्कल झुक्कल तिमीसँग भेट हुन्थ्यो नै । जुनियरै भए पनि म परे व्यस्त चिकिस्सक पोखरादेखि हरेक हप्ता शनिबार शिविर गर्न आफ्नो जन्मथलो दुलेगाैँडा जानुपर्ने ।

तिमी भयौ एक सक्रिय राजनीति गर्ने विद्यार्थी । एक पटकको घटना हो क्षेत्रीय अस्पतालको आकस्मिक विभागमा झाडावान्ता भएर सन्चो नभएपछि त्यहाँका स्टाफसँग रिसाएर तिमीले मलाई बोलाउन भनेछौ । त्यसपछिम आएर औषधीको सामान्य हेरफेरपछि तिमी ठिक भएका थियौ ।

अहिले सोच्दा भर्खर भएजस्तो लाग्छ । जागिरको सिलसिलामा स्वास्थ्य शिविर गर्ने क्रममा म धेरै पटक सल्यान र तिम्रो गाउँ भदौरे तामागी पुगेको छु । एकदुई पटक त भदौरेमा वास पनि बसेको छु । त्यतिबेला म सधैं तिमीलाई याद गर्दै छरछिमेकलाई तिम्रो बारेमा सोध्ने गर्थें ।

मैले मेडिसिन विषयमा एमडी गरेर आएपछि पोखराको सिर्जनाचोकमा प्राइभेट रुपमा फेवासिटी अस्पताल सञ्चालनमा आएपछि क्षेत्रीय अस्पताल वाहेकको मेरो समय यहाँ बित्न थाल्यो । विस्तारै फेवासिटी अस्पताल पनि व्यस्त हँुदै गयो । केही दिनपछि जीवन धान्नका लागि व्यवसाय गर्ने क्रममा तिमी फेवासिटी अस्पतालसँगै जोडेर फेवासिटी रेस्टुरेन्ट चलाउन थाल्यौ ।

साथै फूलहरुको व्यवसाय नर्सरी मार्फत्गर्न थाल्यौ । त्यतिखेर हाम्रो दिनहुँ भेट हुन्थ्यो । तिम्रो गाउँतिरका र तिम्रो चिनजानका थुप्रै बिरामी मैले जाँच्नु पर्ने हुन्थ्यो । विभिन्न राजनीतिक पार्टीका नेता कार्यकर्ता र समाजसेवीहरुको भेटघाटको स्थल थियो तिम्रो घर ।

एकपटक त भूतपूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि घरमै आएजस्तो लाग्छ । तिम्रो सामाजिक, राजनीतिक घरयासी पाटो आफ्नै तरिकाले चल्दै थियो । हामी दुईको बिचमा दाजुभाइको सुमधुर सम्वन्ध थियो । तिमी मलाई (डाक्टर दाइ) भनेर बोलाँउथ्यौ म तिमीलाई सँधै आहारविहार खानपानमा ध्यान दिन सुझाव दिन्थे ।

बुहारी पनि सँधै चिन्तित रहन्थिन् तिम्रो स्वास्थ्यको बारेमा । समय पनि कति छिटो बित्दो रहेछ । पोहोर सालमात्र तिमी सिकिस्त बिरामी भयौ तिमीलाई गम्भीर प्रकारको रक्तश्राव भयो । वान्ता र दिसाबाट रगत बग्न थाल्यो खाद्यनलीको तल्लो भागबाट नसा फुटेर रक्तश्राव भएको थियो ।

त्यो दिन राति गण्डकी मेडिकल कलेजको आइसियु मा भर्ना गरी भोलिपल्टै काठमाडाैँको नर्भिक अस्पताल रिफर गरी कलेजो रोग विशेषज्ञ डा. सुधांसु केसीले फुटेको नसा इन्डोस्कोपी मार्फत् बाँधेर आराम भएपछि थप उपचारका लागि कलेजो प्रत्यारोपणका गर्न छिमेकी देश भारतको दिल्ली जाने सल्लाह दिनुभयो । त्यस पछि तिमी पोखरा आयौ थप सल्लाह र अन्य व्यवस्थाको लागि ।

त्यतिबेला पोखराका अग्रज समाजसेवी, वुद्धिजीवी र राजनीतिज्ञ हाम्रा आदरणीय काका नीलकण्ठ शर्मा र सोभियत अधिकारी दाइले पनि तिम्रो उपचार प्रक्रियाका बारेमा सल्लाह गर्नुभयो । यसपटक भने डा. सुरेश थापा पनि पेट र कलेजो सम्वन्धी विषयमा डिएम गरी भर्खरै मात्र पोखरा आउनुभएको थियो ।

उहाँसँग तिम्रो र तिम्रो परिवारको लामो छलफल भएपछि डा. सुधांसुले भने जस्तै गरी भारतको सरगंगाराम अथवा मेदान्त अस्पतालमा जाने सल्लाह भएको मलाई याद छ । त्यसपछि म पनि आफ्नै कार्यव्यस्ततामा लागे । विश्वव्यापी कोरोनाको महामारी र बन्दाबन्दीपछि नेपाल सरकारको निर्देशन अनुरुप मेरो बिरामी जाच्ने प्रक्रिया पनि रहेन ।

नत्र योबीचमा भेट हुन्थ्यो नै होला । तिमी फेरि बिरामी भइ गण्डकी मेडिकल कलेजमा भर्ना भएको कुरा एकदिन विहानै डा. कृष्ण थापाबाट थाहा पाएँ ।

पहिलाको जस्तै औषधी उपचारको विधि अपनाई अहिलेलाई स्थिति सामान्य बनाइ काठमाडाैँ रिफर गर्ने सल्लाह दिएँ । तर विधिको विधान तिम्रो मेरो फेरि भेट हुन नलेखेको रहेछ । यसपटक तिम्रो अवस्था एकदमै गम्भीर र नाजुक भएकोले स्वास्थ्य विज्ञानका उपलव्ध सबै उपाय अपनाउँदा पनि तिम्रो रक्तश्राव रोकिएन ।

पछि साँझ थाहा पाएँ तिमी हामी सबैबाट बिदा लिई यस लोकबाट अर्कै लोकको यात्रामा लागेछौ । यो सुनेर म एकदम दुखित भए । झल्झली २०४२ सालको घटनाको याद आयो । त्यति बेलाको विषम परिस्थिति, साधन स्रोतको अभाव ।

मेरो भर्खरको चिकित्सकीय अनुभवभन्दा पनि तिमीप्रतिको हाम्रो माया र लगनले तिम्रो छियाछिया परेको हात बचायौं । त्यसले गर्दा तिम्रो बाँकी जीवन सक्रिय र ऊर्जाशील रहयो । तर ३५ वर्ष पछिको विकसित चिकित्सकीय प्रणाली प्रशस्त साधन स्रोत हुँदा हुँदै पनि तिमीलाई बचाउन सकिएन ।

यो हाम्रो आधुनिक चिकित्सा प्रणालीको वाध्यता हो कि विधिको विधान हो कि मानव जिवनको नियति हो म भन्न सक्दिनँ ।

केही दिन अगाडि भेटी लिएर फेवासिटी अस्पतालका साथीहरु सर्वजित अधिकारी, दिनेश खडका र म तिम्रो घरमा जाँदा बहिनी र शोकाकुल परिवारलाई भेट्यौं । समवेदना व्यक्त गर्‍र्यौं ।

तिम्रो उज्यालो र चम्किलो अनुहार हेर्दा तिमी परलोक यात्रामा नभइ घरवरिपरि नर्सरीका फूलहरुमा पानी हाल्दै मुस्कुराउदै गरेजस्तो लाग्यो । तिमी यतै घर वरिपरि नै भएजस्तो लाग्यो ।

भाइ ! तिमीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । आत्माको चिर शान्तिको कामना गर्दछु ।

अलबिदा !

उही, तिम्रो डाक्टर दाइ

सम्बन्धित खबर