मङ्गलबार, ०४ कार्तिक २०७७
samadhannews
Baba Hardware Header add

बडादशैँको आज दोस्रो दिन, ब्रह्मचारिणीको विशेष पूजा

आइतबार, ०२ कार्तिक २०७७

काठमाडौँ

बडादशैं अन्तर्गत आज नवरात्रको दोस्रो दिन, शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको विशेष पूजाअर्चना गरिँदै छ ।

ब्रह्मचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ ।

ब्रह्मचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ ।

सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रह्मचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ । ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ ।

साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा धयान लगाउँछन् ।

ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ ।

ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे हातमा कमण्डलु हुन्छ । ब्रह्मचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रुपमा चर्चा गरिएको छ ।

पार्वतीको यो रुपलाई ब्रह्मचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवीभागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ ।

माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता हिन्दू शास्त्रहरुमा छ । आज विवाह नभएका कुमारीहरुको पूजा गर्ने प्रचलन छ । कन्याहरुलाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले खाने प्रचलन छ ।

शास्त्रहरुमा ब्रहमचारिणीलाई वदनवर्ण कलेजी रङको रहेको भनेर वर्णन गरिएको छ । देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ ।

महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा छ ।

नव दुर्गामध्ये पहिलो दिन शैलपुत्रीको पूजा आराधना गरिन्छ भने दोस्रो दिन ब्रह्मचारिणीको स्तुति गर्ने चलन छ ।

यस्तै तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाताको स्तुति गरीन्छ ।

छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म यो पर्व मनाउने चलन छ ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाराधना गर्ने शास्त्रीय नियम छ ।

दुर्गापूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् डा।रामचन्द्र गौतमले बताए । दशैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

बडादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्नेहरुले दशैंघर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् ।

नवरात्रभर दुर्गासप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवीस्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गरिन्छ ।

यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजाराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सबैजसो मन्दिर बन्द छ ।

शक्तिपीठमा नित्य पूजा भने गरिने जनाइएको छ ।

सम्बन्धित खबर