शुक्रबार, १२ मङि्सर २०७७
samadhannews
Baba Hardware Header add

धौलागिरिमा पहिरोबाट पूर्वाधारमा २६ करोड क्षति

मङ्गलबार, ०४ कार्तिक २०७७

म्याग्दी, रासस 

म्याग्दीको धौलागिरि गाउँपालिकामा यस वर्षको वर्षातका कारण करिब रु २६ करोड बढीको भौतिक पूर्वाधारमा क्षति पुगेको छ ।

गत असार २५ र २६ गते वर्षात्सँगै आएको पहिरोका कारण निजी आवास, विद्यालय, सडक, खानेपानी, विद्युत्लगायत क्षेत्रमा पु¥याएको क्षतिको पुनःनिर्माण गर्न रु २६ करोड बढी बजेट आवश्यक पर्ने देखिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिइन् ।

गाउँपालिकाले प्राविधिक टोली खटाएर पहिरो र बाढीले पु¥याएको क्षतिको विवरण र तथ्याङ्क सङ्कलन गरेको हो । पहिरो पीडितको पुनःस्थापना, क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा प्रदेश र सङ्घ सरकारसँग आवश्यक पहल गरिएको गाउँपालिकाले जनाएको छ । गत असारको पहिरोले मराङको रिख, राम्चे, कल्लेनी, ठूलोगाउँ र कुम्रीमा १९ जनाको मृत्यु तथा दुई जना बेपत्ता भएका थिए ।

पहिरोले वडा नम्बर ७ धारापानीको किसानी माविमा भवन भत्कन थालेकाले सो विद्यालयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको छ ।

पहिलो चरणमा पूर्णरुपमा घरबारविहीन भएकाको आवास पुनःनिर्माण गरिने र जोखिम र जीर्ण बनेका घरको समेत मर्मत र आवश्यकता अनुसार पुनःनिर्माणमा सघाउने योजना बनाएको अध्यक्ष पुनले बताइन्।

‘विनाशकारी पहिरोले ठूलो क्षति पु¥याएको छ, अब आवास पुनःनिर्माणमा अघि बढ्छौँ, हिउँदभरमा सबै घरबारविहीन भएकालाई सुरक्षित आवासको प्रबन्ध गर्ने हाम्रो योजना छ,’ अध्यक्ष पुनले बताइन् ।

धौलागिरिको वडा नं ६ मराङमा २४, वडा न ७ ताकम, धारापानीमा ३१ र ५ वडा मल्कबाङमा ५ घर गरी कूल ६० घर पहिरोले पूर्णरुपमा क्षति भएको छ ।

गाउँपालिकाले ताकम, धारापानी र मल्कबाङमा सुकुम्बासीबाहेकका पीडित परिवारको हकमा उनीहरुकै जग्गामा आवास पुनःनिर्माण गर्ने र मराङका पहिरो पीडितको लागि भने एकीकृत बस्ती बनाउने अवधारणा अघि सारेको उपाध्यक्ष रेशम छन्त्यालले सुनाए ।

भूगर्भविद्को टोलीबाट अध्ययनका लागि प्रदेश सरकारलाई पत्राचार गरिएको र अध्ययन र विस्तृत अध्ययन प्रतिवेदनका आधारमा पुनःनिर्माणलाई अघि बढाउने गाउँपालिकाको तयारी रहेको प्रवक्ता झकबहादुर छन्त्यालले बताए ।

हालै सम्पन्न विशेष गाउँसभाबाट गाउँपालिकाले आवास पुनःनिर्माणका लागि रु ४९ लाख ७३ हजार बजेट विनियोजन गरेको छ भने प्रकोप व्यवस्थापन कोषमा रु ५० लाख छुट्टाएको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले जानकारी दिए ।

प्रदेश र सङ्घ सरकार तथा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना), विभिन्न सहयोगदातासँग समन्वय गरी घरबारविहीन भएकाको आवास पुनःनिर्माण गर्न जुटेको गाउँपालिका अध्यक्ष पुनको भनाइ छ ।

गाउँपालिकाले पहिरो पीडितको सहयोगदार्थ सञ्चालन गरेको सहयोग सङ्कलन अभियानअन्तर्गत गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबाट रु आठ लाख र सहयोगदाताबाट रु ४२ लाख सहयोग जुटेको छ ।

सम्बन्धित खबर