शुक्रबार, १२ मङि्सर २०७७
samadhannews
Baba Hardware Header add

फेवा सीमांकन गर्न समिति, संयोजकमा पुण्य पौडेल

बुधबार, ०५ कार्तिक २०७७

समाधान संवाददाता, पोखरा

फेवातालको सीमांकन र संरक्षणका बारेमा सर्वोच्चले निर्देशनात्मक आदेश दिएपछि गण्डकी प्रदेश सरकारले मन्त्री विकास लम्सालको संयोजकत्वमा २०७५ माघ १० मा समिति गठन ग¥यो ।

कामको क्षेत्राधिकार नै तोकेर गठन गरिएको समितिले छिटै काम गर्ला र प्रतिवेदन बुझाउला भन्ने आशा पनि गरिएको थियो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सम्हालेका मन्त्री लम्सालले सार्वजनिक कार्यक्रमहरुमा फेवा संरक्षणमा अब कुनै कसर बाँकी नराखिने भाषण दोहो¥याइरहे ।

फेवातालकै बीचमा विश्रामस्थल बनाएर महँगोमा कफी बेच्ने योजना पनि उनले सुनाए ।

कास्कीका सबैजसो सांसद सदस्य रहेको उक्त समितिको ५ पटकजति बैठक पनि बस्यो । समितिले निर्णय गरेर सीमांकनका संघ सरकारसमक्ष ३ पटक सिफारिस पनि ग-यो । तर परिणाम निस्केन ।

मन्त्री संयोजकत्वको समितिको काम प्रभावकारी नभएपछि प्रदेश सरकारले महानगरको मुख ताक्यो ।

आखिर महानगरकै अगुवाईमा एउटा प्रतिवेदन तयार भयो । जसमा सीमाकंनको आधार मात्र नभएर निजी सम्पतिको मुआब्जा दिँदा चाहिने रकमसमेत खुलाइएको छ ।

औपचारिक रुपमा सार्वजनिक नगरिएको उक्त प्रतिवेदन महानगरका मेयर मानबहादुर जिसीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको रोहबरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइसकेका छन् ।

मेयर जिसीले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइसकेपछि अहिले फेरि प्रदेश सरकारले फेवातालको ४ किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समिति गठन गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदले जिल्ला विकास समितिका तत्कालीन सभापति पुण्यप्रसाद पौडेललाई समितिको संयोजक तोकेको छ । समितिको पदावधि ३ महिना निर्धारण गरिएको छ ।

जिविस सभापति हुँदा २०५८ सालमै पौडेलले फेवाताल जोगाउन भन्दै धेरैजसो ठाउँमा सीमा छुट्याएर सिमन्टका किल्ला गाडेका थिए । वाराहीघाटदेखि चंखपुरसम्म गाडिएकामध्ये अहिले एउटै किल्ला भेटिँदैनन् ।

पौडेल संयोजकत्वको समिति सदस्यमा पोखरा महागरपालिका प्रमुख प्रशासकीय अधिकृत पनि छन् ।

डिभिजन वन कार्यालयका प्रमुख, राष्ट्रिय ताल संरक्षण समितिका सदस्य,जिल्ला मालपोत कार्यालयका प्रमुख समिति सदस्य र नापी कार्यालय कास्कीका प्रमुख सदस्य सचिव रहने गरी समिति गठन गरिएको हो । यो समिति संघ सरकारकै अग्रसरमा गठन भएको हो ।

काम कहाँबाट थाल्नुहुन्छ त ? भन्ने प्रश्नमा पौडेलले भने, ‘काम कहाँबाट सुरु गरौं भन्ने त छ, सबैभन्दा पहिला सर्भेयरको टोली बनाएर कित्ता, नक्सा र कहिलेको नापीको जग्गा हो भन्ने छुट्याउँछौं ।’

सर्वोच्चको फैसला कार्यान्वयनकै लागि यो समितिले काम गर्ने भन्दै उनले मुआब्जा कति लाग्छ, बदर गर्नुपर्ने कित्ता कति छन्, पर्ती जग्गा कति हो लगायत सबै खालको अध्ययन गर्ने पौडेलले बताए ।समिति आफैले मात्र केही गर्न नसक्ने भएकाले सरोकारवाला सबैको यसमा सहयोग चाहिने उनले उल्लेख गरे ।

कुनै बेला २२ हजार रोपनी क्षेत्रफलमा फैलिएको फेवाताल अहिले१० हजार रोपनीमा खुम्चिएको छ । यसको प्रमुख कारण प्राकृतिक र मानवीय अतिक्रमण हो । २०५४ सालमा गरिएको सीमांकन अनुसार फेवातालको जलीय क्षेत्रफल ९ हजार ९ सय ५६ रोपनी अर्थात् ५ सय ५ हेक्टर छ ।

फेवातालको जम्मा क्षेत्रफल १२ हजार ७ सय ९ रोपनी रहेकोमा २ हजार १ सय १ रोपनी जग्गा अतिक्रमण भएको छ ।

फेवाआसपासका बासिन्दा यसको सीमा बर्सेनि मिच्दैछन् । अनि तालको पानीका स्रोत खोलाखोल्साबाट बगेर आउने गेग्रानले फेवाताललाई पुर्दैछ ।

यस्तै अवस्था रहे अबको सय वर्षमा फेवाताल भएको क्षेत्र पूरै पुरिएर चौर र बगरमा परिणत हुने विज्ञहरुले प्रस्ट्याइसकेका छन् । जलाधर क्षेत्रमा बनिरहेका सडक र बढ्दो भूक्षय पनि फेवाका लागि दुःख बनेर आएको छ ।

सम्बन्धित खबर