काेराेनाले १० लाख बढीकाे ज्यान लियाे, अझै १० लाखकाे मृत्यु हुने चेतावनी

समाधान संवाददाता २०७७ असोज १० गते ९:२१

एजेन्सी

काेराेना भाइरसका कारण अहिलेसम्म १० लाख भन्दा बढीकाे ज्यान गएकाे भन्दै विश्व स्वास्थ्य संगठनले अझै १० लाख मानिसकाे ज्यान जान सक्ने चेतावनी दिएकाे छ ।

प्रभावकारी खोप पत्ता लाग्नु पूर्व विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २० लाख पुग्न सक्ने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको हाे ।

Advertisement

डब्लुएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले अन्तर्राष्ट्रिय रुपमा महामारीविरुद्ध एकीकृत र प्रभावकारी काम नभएमा ज्यान गुमाउनेको संख्या अधिक हुन सक्ने बताएका हुन् ।

गएको वर्षको अन्त्यतिर चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा झण्डै १० लाख मानिसको ज्यान गएको छ ।

Advertisement

संक्रमण फैलिने क्रमम निरन्तर जारी रहँदा विश्वभर संक्रमितको संख्या तीन करोड २० लाख भन्दा बढी पुगेको छ ।

अहिलेसम्म अमेरिका, भारत र ब्राजिल विश्वका सबैभन्दा बढी प्रभावित देश हुन् । यी तीन देशमा गरेर एक करोड ५० लाख भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्ला दिनहरुमा युरोपका विभिन्न देशमा संक्रमण पुनः बढ्दो क्रममा देखिएको छ । महामारीको पहिलो चरणमा जस्तै अहिले पनि युरोपका विभिन्न देशमा लकडाउनसहितका प्रतिबन्धात्मक उपायहरु अपनाउन थालिएको छ ।

डा. रायनले भने, ‘समग्रमा निकै फराकिलो क्षेत्रमा चिन्ताजनक रुपमा संक्रमण फैलिरहेको हामीले देखेका छौँ ।’

उनले युरोपियनहरुलाई लकडाउनको अवस्था पुनः आउन नदिनका लागि पर्याप्त काम गरे–नगरेको आफैलाई सोध्न आग्रह गरेका छन् ।

उनले परीक्षण तथा ट्रेसिङ्ग, क्वारेन्टिन र सामाजिक दूरीसहितका उपायहरु अपनाउन मुख्य रुपमा जोड दिनु पर्ने र त्यसमा कुनै पनि हिसाबले कमी ल्याउन नहुनेमा जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया