मङ्गलबार, १६ मङि्सर २०७७
samadhannews
Baba Hardware Header add

रंगलाको त्यो चौतारो

आइतबार, ०७ मङि्सर २०७७

खिम लामिछाने काजी

वरिपरि सरकारी कार्यालयहरुः जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी, जिल्ला विकासको कार्यालय बैदाम प्रहरी र पूर्वपट्टि नेपाल राष्ट्र बैंकलाई राखेर उभिएको एउटा रुख ।

हुन् त यी सरकारी कार्यलयहरु भन्दा जेठो होला त्यो रुख, जसले पञ्चायती शासन, बहुदलीय शासन, राजतन्त्र, लोकतन्त्र गणतन्त्र सबै शासन प्रणालीहरुलाई भोगिसकेको छ । र अझै कति भोग्न बाँकी छ ।
२०३६ मा तत्कालीन राजा वीरेन्द्रले बहुदल वा सुधारिएको पञ्चायत कुन रोज्ने भनी गराइएको जनमत संग्रहको साँची पनि हो यो चौतारो ।

अहिले यो चौतारो भएको ठाउँको नाम सहिदचोक भएको छ । चोकको नाम सहिद राख्दा अरु थुप्रै नामहरुचाहिँ सहिद भएका छन् । मैले देख्दा यो चौतारो चारपाटे (आयतकार) थियो । हामी यसलाई रंगलाको चौतारो भनेर चिन्दथ्यौं ।

जति बेला चौतरालाई रंगरोगन गर्ने चलन थिएन। त्यति बेला यो चौतारोलाई रङ लगाइएको हुनाले यसलाई रङ लगाइएको चौतारो भनिएको रहेछ । मेरा बाआमाहरुले यसलाई जिल्ला पञ्चायतको चौतारो भन्थे ।

सायद पञ्चायतका सबै कार्यालयहरु यतै वरपर भएर हो कि जिल्ला पञ्चायतको चौतारो भनिएको । तर आजकल सहिद चोक भनेर सबैले चिन्छन् ।

उक्त चौतारो अगाडि प्रजातन्त्र प्राप्तिका लागि आन्दोलन गर्दागर्दै प्रहरीको गोली लागि घाइते हुनु भएका (ज्युँदा सहिद भनेर म उहाँलाइ सधै भन्ने गर्दछु) दाजु खेम पहरीका अनुसार धेरै पहिले यो चौतारोलाई‘पक्का’लाको चौतारा भनेर भनिन्थ्यो ।

सिमेन्ट र बालुवा प्रयोगगरी पक्की गरेर बनाइएकोे हुनाले यसलाई पक्कालाको चौतारा भानिएको रहेछ । त्यति बेला चौतारोहरु सिर्फ ढुंगा र माटोले मात्र निर्माण गर्ने चलन थियो ।

२०४६ सालको जनआन्दोलनपछिको प्रजातन्त्र पुनःस्थापनापछि यो चौतारालाई बहुदलको चौतारा भनेर पनि भनिन्थ्यो । २०४६ को जनआन्दोलनमा झपेन्द्र कार्की र ऋषिराम परियारले सहादत प्राप्त गरेपछि जिल्ला पञ्चायतको चौतारो नाम फेरियो र सहिदचोक भयो ।

हाल चौतारोको दक्षिणपट्टि पार्कको निर्माण गरिएको छ । पार्कभित्र एउटा स्तम्भमा सहिदहरुको नामावली राखिएको छ र यो पार्कलाई सहिद पार्क नामकरण गरिएको छ ।

त्यति बेला यो चौतारो सिर्फ शीतल हावा खाने ठाउँमात्रै थिएन । चारपाटे यो चौताराको किनार वरिपरि विभिन्न सामान बेच्न व्यापारीहरु भरिन्थे ।

जाडोमा सुन्तला, बदाम हुन्थ्यो भने गर्मी याममा काक्रो, खरबुजा, लिची, बरफ आदि बेच्न राखेका हुन्थे । चौतारामा बसेर नांलो माथि चुरोट बिस्कुट चाउचाउ लगाएका तुरुन्त खाने मिल्ने फुटकर वस्तुहरु सधै बेच्न राखिएका हुन्थे ।

त्यसैगरी चुरा बेच्नेहरुले बेचिरहेका, साइकलमा राखेर पान बेचिरहेका, चना चटपट बेचिरहेका हुन्थे । भुइँमा बोरा ओछ्याएर कपडा फिजाएर बेचिरहेका हुन्थे । अहिले लाग्छ यो सिर्फ चौतारोमात्र होइन एउटा खुला सपिङ मल नै थियोे ।

प्रत्यक्ष राजाको शासन होस् वा जनताको शासन होस् यो चौतारो आन्दोलन गर्ने ठाउँको रुपमा प्रख्यात थियो, जस्तो अहिले काठमाडौंको भृकुटी मण्डप रहेको छ ।

भोट हालिसकेपछि भोट गन्ने ठाउँ थियो जिल्ला समन्यय समितिको कार्यालय । त्यो भोट गनेको अपडेट सुन्ने ठाउँ थियो यही चौतारो । भोट जितेर उत्सव यही चौतारोबाट सुरु गर्ने गरिन्थ्यो ।

चौतारोको नजिक घर हुने ज्येष्ठ नागरिकहरु पनि लौरा टेक्दै आएर यही चौतारोमा बसेर दिन बिताउँथे । चटक देखाएर औषधी बेच्ने होस् वा भालु र बाँदर नचाएर पैसा माग्ने ठाउँ होस्, यही चौतारो नै अब्बल थियो उनीहरुका लागि ।

जादु वा हातको सफाई देखाउनेको रोज्जा ठाउँ नै यही चौतारो थियो । सरकारी काम कहिले जाला घाम, सरकारी काम एकै दिनमा र एकै छिन मा हुने कुरै थियन । एउटा कामलाई धेरैपटक आउजाउ गर्नुपर्ने भएकाले यो चौतारो वरपर सधै मान्छेको भिड हुन्थ्यो ।

जिल्ला अदालत, पुनरावेदन अदालत, खानेपानीको महसुल बुझाउने ठाउँ, जेलखाना, जिल्ला पञ्चायत (हाल जिल्ला विकासको कार्यालय), क्षेत्रीय शिक्षा कार्यालय आदि विभिन्न कार्यालयमा आफ्नो काम फत्ते गर्नकालागि मान्छेहरु आउने जाने गर्ने यो चौतारो एउटा चोक थियो । र अहिले पनि छ ।

धेरै टाढाबाट आउने मान्छेहरु यही चौतारीमा नगर बसको प्रतीक्षा गरिरहेका हुन्थे ।

बाआमा बस चढ्न आउँदै गर्दा उनीहरुको छोराछोरी पनि पछिपछि रुँदै बाआमासँगै जानका लागि पछि लागेर यही चौतारोसम्म आएर रोकिन्थे अनि आफ्ना आमाबाले बिस्कुट चकलेट किनी दिएपछि लुरुक्क घर फर्केका अनुहारहरु पनि भेटिन्थे ।

दुईदुईवटा अदालत नजिकै भएको हुँदा वकिलका कुरा र वादी प्रतिवादीका कुरा यही चौतारामा बसेर सुन्न पाइन्थ्यो । कहिलेकाहिँ त चौतारामै झगडासमेत हुन्थ्यो ।

चौतारोको नजिक घर हुने ज्येष्ठ नागरिकहरु पनि लौरा टेक्दै आएर यही चौतारोमा बसेर दिन बिताउँथे । चटक देखाएर औषधी बेच्ने होस् वा भालु र बाँदर नचाएर पैसा माग्ने ठाउँ होस्, यही चौतारो नै अब्बल थियो उनीहरुका लागि ।

त्यति बेला इलाका प्रहरी कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स) दिने गरिन्थ्यो । मैले पनि २०५३ सालतिर यहीबाट लाइसेन्स लिएको हो । लाइसेन्सका लागि आवेदन दिने, ट्रायल दिने लाइसेन्स लीने सबैको भिड यहि चौतारोमा हुन्थियो ।

अहिले जस्तो जिल्ला प्रशासन कार्यलयमा प्रतीक्षालयको व्यवस्था थिएन । यसैले नागरिकता बनाउनका लागि आएर बालिग नागरिक र अभिभावक पनि यही चौतारीमा बसेर नागरिकताको प्रमाणपत्र लिनको लागि सुस्ताइरहेका भेटिन्थे ।

बाआमा बस चढ्न आउँदै गर्दा उनीहरुको छोराछोरी पनि पछिपछि रुँदै बाआमासँगै जानका लागि पछि लागेर यही चौतारोसम्म आएर रोकिन्थे अनि आफ्ना आमाबाले बिस्कुट चकलेट किनी दिएपछि लुरुक्क घर फर्केका अनुहारहरु पनि भेटिन्थे ।

फेवातालसम्म नगर बस जानुभन्दा पहिले पोखराको विभिन्न ठाउँबाट फेवाताल घुम्न आउनेहरु पनि नगर बसमा पहिले यही चौतारोमा ओर्लन्थे ।

नगर बसको तुलनामा ट्याक्सी धेरै महँगो मानिन्थ्यो । कि त हुने खानेले कि अपर्झट पर्दा, बिरामी पर्दा अस्पताल जान ट्याक्सीको प्रयोग गरिन्थ्यो । बैदामबासीहालको लेकसाइडका सबैले नगर बस चढ्न यही चौतारोमै आउनु पर्दथ्यो ।

२०५० सालतिर म पृथ्वीनारायण बहुमुखी क्याम्पस पढ्दाताका साढे ४ बजे उठेर ५ बजे नै यही चौतारीमा पुगेर नगर बस कुर्ने गर्दथें ।

बस कुर्ने अरु थुप्रै विद्यार्थीहरु पनि चौतारामा बसिरहेका भेटिन्थे । हाल चौतारो आकार चारपाटेबाट गोलाकार भएको छ । चौताराको वरपर केही भागमा पिच गरिएको छ ।

यो चौतारोसँग थुप्रै व्यक्तिका अनगिन्ती स्मरणीय सम्झनाहरु गाँसिएका छन् ।

सम्बन्धित खबर