शुक्रबार, ०९ माघ २०७७
samadhannews
Baba Hardware Header add

‘अपांगता भएकाले अनलाइनमा कसरी पढ्ने ?’

शुक्रबार, २६ मङि्सर २०७७

‘अभिभावक स्वयं कोरोना लाग्छ भनेर डराइरहेका छन् । यस्तोमा उनीहरुले कसरी बच्चा स्कुल पठाउँछन् ?’

अनुप आत्रेय, पोखरा

एसइईको अन्तिम तयारीमा रहेका विद्यार्थीले कोभिड १९ ले गर्दा चैतमा परीक्षा दिन पाएनन् । विद्यालयले दिएको अंककै आधारमा उनीहरु कक्षा ११ मा पुगे ।

एसइईबाहेक अन्य कक्षाको पढाइ पनि प्रभावित भयो । भौतिक उपस्थितिमै हुने कक्षा र परीक्षाको विकल्प अहिले अनलाइन बनेको छ । तर अपांगता भएकाहरु त्यसबाट पनि बन्चित छन् ।

अधिकांशले चासो नदिएको यही विषय बिहीबार पोखरामा आयोजित कोभिडले बालबालिकामा परेको असर विषयक अन्तक्र्रियामा उठ्यो ।

७२ औं मानवअधिकार दिवसको अवसरमा अनौपचारिक सेवा क्षेत्र केन्द्र (इन्सेक) ले गरेको कोभिड १९ ले महामारीमा पारेको प्रभाव विषयक धेरैले इन्टरनेट र मोबाइलको सहज पहुँच नभएकोमा जोड दिए ।

त्यही भेलामा अपांग अधिकारकर्मी खोमराज शर्मा सुवेदी बोले – म जे भन्दै छु अहिलेसम्म बोल्नुभएका कसैले पनि त्यो विषय उठाउनुभएको छैन । कार्यक्रमस्थलको पछाडि बसेका उनीतर्फ सबैको ध्यान तानियो । उनले प्रश्न राखे – आँखा देख्नेहरुले अनलाइनमा पढ्लान् तर दृष्टिविहीनले कसरी पढ्ने ?

उनको यो यथार्थतासहितको प्रश्नले सहभागीलाई सोच्न बाध्य बनायो । सुवेदीले अपांगता भएका बालबालिकालाई सँगै राखेर पढाउनुपर्ने भए पनि त्यो सम्भव नभएको सुनाए ।

‘उनीहरुलाई कोडभाषा प्रयोग गरेर पढाउनुपर्छ । नसुन्नेलाई सँगै राखेर छोएर पढाउनुपर्छ,’ उनले भने, ‘हो, दुरी कायम गर्ने भनिएको छ तर अपांगता भएकालाई सँगै राखेर नपढाई सम्भव नै छैन ।’

उनले कार्यक्रममा दोस्रो धारणा लकडाउनबारे व्यक्त गरे । भने, ‘सकिन्छ भने म त अझै २ वर्ष लकडाउन गर्नुपर्छ भन्छु ।’ कार्यक्रम स्थल हाँसोले गुन्जियो । सुवेदीले थपे, ‘हो, २ वर्ष लकडाउन गर्नुपर्छ । अनि हाम्रा बच्चालाई व्यावहारिक शिक्षा दिनुपर्छ ।’

त्यसको तात्पर्य बालबालिकालाई किताबी ज्ञानमात्रै दिनुभन्दा दैनिक जीवनमा आवश्यक ज्ञान दिनुपर्छ भन्ने थियो ।

उनले सहभागीलाई हरेक विषयको नकरात्कममात्र नभई सकरात्मक पक्षलाई पनि ध्यान दिनुपर्नेमा जोड दिए । लकडाउनले घरमा बसेका धेरै बालबालिकालाई जीवनउपयोगी शिक्षा सिकाएको सुवेदीको भनाइ थियो ।

कार्यक्रममा शिक्षिका भगवती बञ्जराले तत्काल विद्यालयमै ल्याएर विद्यार्थीलाई पठनपाठन गर्न सम्भव नरहेको बताइन् । ‘अभिभावक स्वयं कोरोना लाग्छ भनेर डराइरहेका छन् । यस्तोमा उनीहरुले कसरी बच्चा स्कुल पठाउँछन्,’ उनले भनिन् ।

पछिल्लो समय शिक्षकहरु पनि समस्यामा परेको तर उनीहरुलाई हेर्ने धारणा नकरात्मक बनेको उनले गुनासो गरिन् ।

बञ्जराले भनिन्, ‘शिक्षकहरु त बसेरै खाएका छन् भनिएको छ !’ सरकारले विद्यालय खोल्न अनुमति दिएको र पोखरा महानगरपालिकाले पनि त्यसको तयारी गरिरहेकाले वर्तमान परिस्थितिमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन कठिन रहेको बताइन् ।

कार्यक्रममा मनोविमर्शकर्ता जमुना शर्माले बालबालिकालाई सकेसम्म मोबाइल र कम्प्युटरको स्क्रिनबाट टाढै राख्नुपर्ने बताइन् ।

‘स्वास्थ्यका हिसाबले ८ वर्षमुनिका बालबालिकाले स्क्रिन हेर्नै हुँदैन । यसमा अभिभावकले पनि ध्यान दिनुपर्छ,’ उनले भनिन्, ‘त्यसरी एकै ठाउँमा बस्दा बालबालिकामा मानसिक समस्या देखिन्छ ।’

१ वर्ष पढाइ बिग्रिएर कुनै फरक नपर्ने तर मानसिक समस्या सिर्जना भए त्यसले जीवनभरलाई प्रभाव पार्ने भन्दै उनले अभिभावक जिम्मेवार बन्न आवश्यक रहेको बताइन् ।

गण्डकी प्रदेश बाल परिषद अध्यक्ष दीपा आचार्यले कोभिड १९ ले जघन्य अपराध बढेको र त्यसको समाधान नितान्त आवश्यक रहको बताइन् ।

शान्तिका लागि नागरिक सञ्जालको समाज कास्की अध्यक्ष विष्णुप्रसाद बरालले कोरोनाबारे आवश्यकभन्दा बढी भय सिर्जना भएको बताए । उनले सुरक्षित रहन र आफ्ना बालबालिकाको स्वास्थ्यबारे सचेत हुन सुझाए ।

बालअधिकार अभियन्ता केशव पौडेलले विश्व र नेपालमा कोभिडको प्रभावबारे कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा पोखराका विभिन्न बालगृह, गैरसरकारी संस्था, पोखरा बाल मञ्जका प्रतिनिधि लगायत सहभागी थिए ।

सम्बन्धित खबर