बिहिबार, ०८ माघ २०७७
samadhannews
Baba Hardware Header add

को हुन् कान्छा महारानी ?

शनिबार, १८ पुष २०७७

यो इतिहासको आख्यानीकरण हो । जसलाई इतिहासको एक कालखण्डको पुनर्लेखन पनि मान्न सकिन्छ ।


खिम लामिछाने काजी

‘कान्छा महारानी’ उपन्यास अंग्रेजी साहित्य र अंग्रेजी नाटक मञ्चनमा सक्रिय रहेकी लेखिका शिवा शाहद्वारा लिखित अंग्रेजी उपन्यास ‘द अदर क्विन’को नेपाली अनुवाद हो ।

उपन्यास अध्ययन गर्दा अनुबाद गरिएको जस्तो कत्ति पनि नलाग्ने ‘कान्छा महारानी’ को अनुवाद अंग्रेजी साहित्य र फ्रासेली भाषा अध्यापन एवं नेपाली रंगमञ्च र पठन संस्कृतिको अभियन्ता लेखिका सगुना शाहद्वारा गरिएको हो ।

सयौंवर्ष अगाडिको घटनालाई आत्मवृतान्ततथामनोवादमा शैलीमा उपन्यासलाईफरक ढंगबाट लेखिएको छ ।

यो इतिहासको आख्यानीकरण हो। जसलाई इतिहासको एक कालखण्डको पुनर्लेखन पनि मान्न सकिन्छ ।

उपन्यासमा तत्कालीन अवस्थामा भएका हरेक घटना र परिवेशलाईमिहीन तवरले सविस्तार व्याख्या विश्लेषण गरिएको छ ।

कतिपय घटनाहरुको तिथि मिति समेत उल्लेख गरिएको छ, जसले गर्दा सत्य घटनामा आधारित उपन्यास हो भन्ने पुष्टि गर्दछ ।

उपन्यास पढ्न थालेदेखि थुप्रैले ‘कान्छा महारानी’ हो कि ‘कान्छी महारानी’ हो भनेर प्रश्न गरे ।

मेरो आफ्नै भाषामा जनताको कान्छी श्रीमतीलाई कान्छी महारानी र राजा महाराजाहरु कान्छी श्रीमतीलाई कान्छा महारानी भन्ने होला भन्ने उत्तर दिँदै गएँ । पछि थाहा पाएँ, यो दरबारिया चलन रहेछ ।

नेपालको इतिहासलाई आफ्नो रङले पोतिदिएका २ प्रभावशाली महारानीको कथा हो – कान्छा महारानी ।

राज्यसत्ता र शक्तिको आडमा व्यक्तिगत स्वार्थ र महत्वाकांक्षा पूरा गर्दैजादा सिंगो राष्ट्रको भविष्य कसरी परिवर्तन हुँदै जान्छ भन्ने एतिहासिक दस्ताबेजको रुपमा लिन सकिन्छ यो उपन्यास ।

उपन्यासमा १०४ वर्षीय जहानिया राणा शासनको उदय कसरी भयो?वीरनरसिंह कुँवर कसरी जंगबहादुर कुँवरभए ?भन्नेबारे उल्लेख गरिएको छ ।

तत्कालीन बडामहाराज राजेन्द्रको निर्णय गर्ने क्षमता कमजोर, कातर स्वभावको कारण राज्यको सार्वभौमसत्तो बडामहारानी साम्राज्य लक्ष्मी र उनको मृत्युपछि कान्छा महारानी अर्थात राजेन्द्र लक्ष्मीको राज्यको बागडोर हातमा गएपछि देशको राजनीतिक स्थितिको बारेमा वर्णन गरिएको छ ।

तत्कालीन राज्य व्यवस्थ्यामा सत्ता र शक्तिलाइ आफ्नो हातमा लिन र व्यक्तिगत फाइदा उठाउन भारदारहरुले गरेका चाकडी चाप्लुसी, धोकाघडी र हत्याको बारेमा उल्लेख गरिएको छ ।

कान्छा महारानीमा इतिहासले खलपात्र मानेकी एक स्त्रीको बदलाको कथा छ। शक्ति र सत्ता हत्याउने दाउपेचमा भारभारदार र दरबारियाहरुको प्रायोजित ढंगले गरिएको कुटिल चाल र षड्यन्त्रमा उनी कसरी कटपुतली बन्न पुगिन् भन्ने बारेमा उल्लेख गरिएको छ ।

उपन्यासले पाठकलाई अतितको एउटा तिलस्मी कालखण्डमा लिएर जान्छ । अक्षरहरु पढ्दै जादा चलचित्र हेरेर झैँ दृश्यहरु मानसपटलमा सलबलाउछन ।

उपन्यासका पात्रहरुको माया, प्रेम, आक्रोश, व्यथा, बदला, षड्यन्त्र र पश्चाताप जस्ता विविध भावभंगीहरुले पाठकको मनलाइ घच्घचाइरहन्छ ।

सत्ताको उत्तराधिकारी आफ्नो सन्तानलाइ बनाउनको लागि गरिएको षड्यन्त्र तथा भारभारदार र दरबारियाहरु बीचको आन्तरिक द्वन्द्व, ईष्र्या, बहुलठ्ठीपन, प्रेम अनि कान्छा महारानीको पतनको कथा हो उपन्यास ।

उपन्यासमा नारीहरु पीडा र व्यथा प्रस्तुत छ । सहोदर दिदीबहिनी (साम्राज्य लक्ष्मी र राज्य लक्ष्मी) ले राजा राजेन्द्रसँग विवाह गरे पश्चात एक अर्काका सौता हुन्छन् ।

एउटी पत्नीको सम्झानामा पति उदास भइदिँदा अर्कीको मनोदशा कस्तो होला ? एक नारीको लागि यो भन्दा ठूलो मानसिक पीडा अरु के हुनसक्छ ।

यी २ नारीबीचको द्वन्द्व र इष्र्या मार्फत सम्पूर्ण नारीहरु कथालाई प्रस्तुत गरिएको छ ।

‘गरीबहरुका लागि स्वास्नी भनेको सन्तान जन्माइदिने र कहिले काही रिस पोख्ने भाँडो मात्र हो’ रानीको सुसारे बाटुलीको यो भनाइ मार्फत तत्कालीन अवस्थाको नारी प्रताडना र अन्धविश्वासलाई उजागार गर्ने प्रयास गरेको छ ।

त्यसैगरी सुसारे गर्भवती भएको थाहा पाएपछि गर्भलाइ तुहाउनको लागी दिनभर भ¥याङमा तलमाथि गर्न लगाइने ।

दिनभर गह्रुंगो भारी बोकाउन लगाइने । यस्ता अनेकौ सास्तीहरु दिएर नारीको दमन गरिने कुरालाई उपन्यासमा समेटिएको छ ।

मुख्यतया त उपन्यास नेपाली इतिहासको एक कालखण्डमा गरे गराइएका सनसनीपूर्ण घटनाहरुको आख्यानीकरण नै हो यो उपन्यास ।

अब के हुन्छ, अगाडिको कथामा कसले कसलाई धोका दिने हो भन्ने खालका कौतुहलता सुरुदेखि अन्त्यसम्म भइरहन्छ । विशेष गरी एक असाधारण महिला पात्रको वरिपरिको शेरोफेरोमा कथा लेखिएको छ।

तत्कालीन अवस्थामा राजा महाराजा राजकुमार साहेबज्यादाहरु अफिमको नशामा रल्लिने, भारदारहरुको कुरा सुनेर सत्ता र शक्ति हत्याउन अनेकौ जालझेल र साजिस रच्ने ।

आफ्नो मन परेको मान्छेलाई जे मन पर्छ त्यही दिने, मान पदवी, जागिर तर मन नपरेको मान्छेलाई ठाउँको ठाउँ सजाय दिने, हत्यासमेत गरिदिने । भारदारहरु दरबारको आज्ञा शिरोधर गर्नु धर्म ठान्ने ।

मुलुक र मुकुटको सेवा गर्नु धर्म ठान्नु । चाप्लुसीमै जिन्दगी बित्नु जस्ता कुराको इतिवृतान्त उपन्यासमा छ ।

साहेबज्यादा सुरेन्द्रको बहुलठ्ठीपन र अरुलाई यातना दिएर आफू खुसी हुने स्वभावलाई उल्लेख गरिएको छ।

सुरेन्द्र र कान्छा महारानीबीचको द्वन्दलाई अर्का बीच ठूला दुश्मनको रुपमा देखाएको छ।

कथामा षड्यन्त्रमा, धोका, हत्या मात्र होइन दुई आत्माको पवित्र प्रेमलाइ प्रेमिल ढंगबाट प्रस्तुत गरिएको छ । कथाको सुरुमा कान्छा महारानीले राजेन्द्रलाई गरेको प्रेम पनि निश्चल र पबित्र प्रेम थियो । तर एकोहोरो ।

कान्छा महारानी र जगन बीचको प्रेम लीला हेर्दा जीवनमा मायाभन्दा ठूलो कुरा संसारमा अरु केहि छदै छैन जस्तो लाग्छ ।

राज्यसत्ता भन्दा पनि प्रेम नै प्यारो । प्रेमको रोमाञ्चकता र बिछोडको पीडालाई साह्रै मनछुने गरी अक्षरमा उतारिएको छ । प्रेमको सुन्दरता पनि त त्यही हो, मिलन पछिको बिछोड, बिछोडको पीडा, पुनर्मिलनको आशा ।

उपन्यासमा तत्कालीन राजा महाराजहरुको यौन व्यवहार, यौन चाहना र यौन कुण्ठालाई समेत उजागार गरिएको छ ।

कान्छा महारानीले महाराजसँग गरेको यौन व्यवहार र प्रेमी गगनसँग गरिएको यौन व्यवहारलाई निकै रोचक ढंगबाट प्रस्तुत गरिएको छ । त्यस्तै साहेबज्यादा सुरेन्द्रको यौनजन्य क्रियाकलाप र सुसारेहरुको भारदारसँगको सम्बन्धबाट तत्कालीन यौन जीवनबारे बुझ्न सकिन्छ ।

आफ्नो ओहोदाको समेत ख्याल नराखि महाराजी जस्तो ब्यक्तिले यौन सन्तुष्टिका लागी परपुरुषसँगको यौन सबन्ध राखिएको, मध्यरातमा प्रेमी भेट्न गएको कुराहरु निकै अनौठो लाग्न । यौन क्रियाकलापबारे लेखकले खुलेर शब्दहरु संयोजन गरिदिदा पाठकलाइ थप रोमाञ्चित बनाउँछ ।

कथामा राष्ट्र प्रेमलाई जगाउने शब्दका मालाहरु उनिएका छन् । कुनै कुनै ठाउँमा शब्दहरु पढ्दै जादा देशप्रति आघात प्रेम बर्साउँछ । राष्ट्र प्रेमले ओतप्रोत बनाउँछ । जोश बढाउँछ ।

‘के सार्वभौमसत्ताको कुरा गर्छन् तँ? बहादुर मान्छेहरु यसरी शत्रुका सामु शिर झुकाएर बस्नुको सट्टा शिर कटाउनु आफ्नो धर्म सम्झन्छन् । बलभद्र कुँवर, भक्तिथापाहरु बहादुर थिए ।

मुलुकको शानका लागि युद्ध लडे र बलिदान गरे । उनीहरुबाट आर्जेको तिमीहरुले सिध्यायौ । चारधाम तिमीहरुका नाकैबाट खोसे उनीहरुले । बद्री केदार गंगोत्री सबै खोसे । अझ तँ मेरो अगाडि ठूलाठूला कुरा गर्छस् पाजी !’ यी शब्दहरु पढ्दै गर्दा हर पाठकले वर्तमानको भूराजनीतिक अवस्थालाई नसम्झिने को होला ।

‘कान्छा महारानी’मा सीमा विवादबारे पनि चर्चा गरिएको छ । पश्चिम तराईस्थित महाकाली नदीले आफ्नो बाटो फेर्दा सीमा विवाद सिर्जना हुन्छ । भारदारबीच बहस हुन्छ ।

कतिले नदी हाम्रो हो नदी जहाँ बगे पनि हाम्रै हो भन्छन् भने कतिले फिरिंगीले जे चाहन्छन् त्यही गर्दा हुन्छ भन्ने राय दिन्छन् ।

यहाँ नेर पनि पर्तमान देशको परिस्थितिलाई पाठकले एकपटक अवश्य सम्झिने छन् जति बेला महारानी राज्यलक्ष्मीले आफ्नो छोरा राजेन्द्रलाई राजा बनाउन पाए विदेशीले जे चाहन्छन त्यही गर्न तयार हुन्छिन् ।

उपन्यासमा महारानी र राणा बाहेक पनि अन्य थुप्रै रोचक घटनाहरु छन् । जस्तै तत्कालीन अवस्थामा नेपाल राज्यको भौगोलिक सिमाना कहाँसम्म पुगेको थियो भन्ने ऐतिहासिक जानकारी पाउन सकिन्छ ।

सेनाको तबल भत्ता कटौती गरी युद्धका सामग्री किनेको कुराले सैनिक विद्रोह भएको कुरालाइ उपन्यासमा समेटिएको छ । भारतीय सिपाही भन्दा नेपाली सिपाहीहरु बेलायेतको सुरक्षाका लागि उपयुक्त छन् भन्ने कुरा बेलायतीहरुले विश्वास गरको ।

नेपाली सेना खाना खाएर आधा घण्टामा लडाइँका लागि तयार हुन्छन् भने भारतीय सेनालाई तयार हुन तिन घण्टा लाग्छ । गोर्खाली सैनिकसँग अदम्य साहस र आत्माविश्वास छ, जुन भारतीयसँग छैन ।

त्यसैले बेलायतीहरु नेपाली सेनालाइ संसारमा सर्वश्रेष्ठ मान्छन् जुनकुरा ब्रायनले पठाएको पत्रको व्यहोरामा उल्लेख गरिएको छ । तत्कालीन नेपालको राजनीतिमा ब्रिटिसहरुको चलखेल कतिसम्म थियो भन्ने कुरालाई यसमा समेटिएको छ ।

विभिन्न रोचक किंवदन्तीहरुलाई यो उपन्यासमा समावेश गरिएको छ ।

स्वर्गका राजा इन्द्र पनि आफ्नो आमाका लागि पारिजातको फुल खोज्दै काठमाडौं आएको बेला समातिएका र इन्द्र राजा भन्ने थाहा पाएर त्यहाँका जनताले सम्मान स्वरुप सहरमा जात्रा निकालिएको जुन परम्परा अहिलेसम्म कायम रहेको, त्यसैगरी इन्द्रकी आमाले काठमाडांैका रक्षक देवता आकाश भैरवसँग आफ्नो छोरालाई मुक्त गराइदिने र बदलामा उनलाई सीत तुषारो उपहार दिइन्, जसको कारण काठमाडौँमा इन्द्रजात्रा लगत्तै जाडो सुरु हुन्छ भन्ने लगायत अन्य लोककथाहरुलाइ समावेश गरिएको छ ।

त्यसैगरी अर्को रोचक कुरा कुमारीको ब्यबहार सम्बन्धी पनि छ । कुमारी हाँस्नु वा रुनु दुवै खराब लक्षण हुन् ।

कुमारीले आँखा मिचिन भने महारानी वा मराहाजको मृत्यु हुन सक्ने जस्ता तत्कालीन अन्धविश्वासहरुलाई समेत समेटिएको छ । त्यसैगरी दोलखा भीमसेनमा पसिना आउने र राजाले नराम्रो सपना देखे भने देशमा संकट आइपर्छ ।

कान्छा महारानीमा थुप्रै उखान टुक्काहरुको निकै सान्दर्भिक तबरले प्रयोग गरिएको छ । ‘पर्वते बिग्रियो मोजले, नेवार बिर्ग्रिरयो भोजले, उत्ताली गाई बाघले खाई’ लगायत उखानले पाठकलाई थप मनोरन्जन तथा रोचकता थपेको छ ।

उपन्यासमा जीवन र जगतको व्याख्या गर्ने दर्शनशात्रलाई बीचबीचमा घुसाइएको छ, जसले पाठकलाइ फरक दृष्टिकोणबाट जीवनलाइ बुझ्न सहयोग गर्दछ । जीवनको शत्रु मृत्यु होइन बरु भय हो । अज्ञानताको भय, भोलि के होला भन्ने भयमा हामी बाँच्नै डराइरहेको हुन्छांै ।

त्यसैगरी आजभन्दा भोलि राम्रो होला भन्ने आशै आशामा मान्छेले जीवन काट्ने गरेको छ ।

अन्त्यमा, कान्छा महारानी उपन्यास अनुवादित कृति भएता पनि पाठकले अनुवाद गरिएको हो भन्ने कुरा रत्तिभर छनक पाउने अवस्था छैन ।

यो नेपाली साहित्यले पाएको एउटा अर्को उत्कृष्ट ऐतिहासिक उपन्यास हो ।यो सुन्दर उपन्यास तारिफयोग्य छ।किताबले एक समयको नेपाल बोलेको छ।

सगुना शाह

सम्बन्धित खबर