शनिबार, ०३ माघ २०७७
samadhannews
Baba Hardware Header add

बाबु जेलमा, आमा अर्कैसँग

बिहिबार, ०१ माघ २०७७

अनिष भट्टराई, पोखरा

शुक्लागण्डकी ९ का सानु (१२) हालैको एक दिन दुलेगौंडाको यात्रु प्रतीक्षालयमा भेटिए ।

आफ्नो भाइ दिप्पिन (९) लाई उनले बिस्कुट खुवाउँदै थिए । ती दुईको शरीरमा एउटा टिसर्ट र सुरुवालमात्र थियो । यसरी प्रतीक्षालयमा बसेर अरुले दिएको खानेकुराले भोक टारेको २ वर्ष पुगेको सानु बताउँछन् ।

उनको दाइ दीपक (१५) दुलेगौंडाकै एक पसलमा काम गर्ने रहेछन् ।
‘२ वर्षभन्दा धेरै भ, यो (भाइ दिप्पिन) र म बसेको, दाइ कता हो काम गर्छ रे, भेटेको छैन,’ बिस्कुटको खोल चलाउँदै सानुले भने ।

अहिले सानुले दिप्पिनलाई लिएर बसेका छन् भने उनको परिवारका आमा, बुबा, दाइ र दिदी आआफ्नै जीवनमा भुलेका छन् ।

आमा अर्कै पुरुषसँग भागेको र बुबा जबरजस्ती करणी मुद्दामा जेलमा छन् । त्यो अपराध के थियो, कस्तो थियो सानुलाई राम्ररी थाहा छ, तर बिर्सेर पनि सम्झन चाहँदैनन् ।

त्यस्तो अपराध जुन कुनै पनि बाबुले गर्छ भनेर कल्पना कसैले गर्न सक्दैन । सानु त्यो घटना कोट्याउनासाथै भक्कानिन्छन् ।

आफ्ना उमेरकाहरु बाआमासँग हात समातेर रमाउँदै हिँड्छन् । नयाँ कपडा र मिठा खानेकुरा खाँदै गरेको देख्दा उनीहरुको मन अमिलिन्छ ।

आफ्ना बुबाआमासँग उनीहरुले त्यसरी हिँड्न कहिल्यै पाएनन् । ती २ को पनि मन हुँदो हो, आफ्ना आमाबुबाको हात समातेर, रमाउँदै निस्फिक्री डुल्ने । नयाँ कपडा लगाउने, साथीभाइलाई आफ्नो आमाबुबाले किनिदिएका खेलाउना देखाउने ।

तर उनीहरुको त्यो चाहा पूरा हुन सकेन । आफ्नै वर्तमानको टिठलाग्दो अवस्थाले दिनहुँ चुट्दो हो । त्यसैले त सानु आफ्ना बुबाआमाको कुरा गर्दा भावविह्वल हुन्छन् ।

‘आमा त गाडी चलाउनेसँग भागेको रे, बा त जेलमा छन्,’ सानुले मन कुँडाउँदै भने । ती २ भाइकी दिदी भने अहिले आफ्नै घरबार जमाएर बसेकी छन् । दिदीसँग उनीहरुको विवाहपछि भेट भएको छैन । कहाँ छिन् के गर्दैछिन् न उनीहरुले खोज्न सकेका छन्, न दिदी नै भाइहरु खोज्दै आएकी छिन् ।

तिमीलाई सबैभन्दा बढी के चाहिएको छ ? सानु हत्तारिँदै भन्छन्– मास्क । कोरोनाको डर सानु र उनका भाइलाई पनि छ । त्यसैले त उनीहरु अरुले फालेको फोहोर मास्क नै लिएर हिँडेका छन् । ‘सबैले मास्क लाछन्, यल्ले र मैले नि अरुकै लाको हो,’ सानु भन्छन्, ‘कोरोनाले मार्छ रे, हामीलाई नि डर लाइहाल्छ भो ।’

शुक्लागण्डकीका ती २ दाजुभाइले आफ्नो घरवरपरका मान्छे भेटिरहन्छन् । तर कसैले उनीहरुमाथि सदभाव देखाएका छैनन् । आफन्त पनि उनीहरुका आँखामा ठोक्किन्छन् ।

तर उनीहरुका नजरले यी दाजुभाइलाई नदेखे झै गर्छन् । आँखा जुधिहाल्ला कि भनेर कैयौंपटक तर्कीतर्की हिँडेको अनुभूति दाजुभाइले नै गरेका छन् । ‘गामका लाई देख्छम्, कोइले खानी कुरा नि देछैनन्,’ दिप्पिनले भने । सानु र दिप्पिनलाई ‘स्कुल’ जान मन छ । तर खान बस्न ठेगान नभएका उनीहरु कसरी विद्यालय जाउन् र ?

सानु र दिप्पिनका आफन्तको आर्थिक अवस्था पनि कमजोरै छ । खेतीकिसानीमा ज्यालामजदुरी गरेर छाक टार्छन् । सानु र दिप्पिनलाई हेर्न सक्ने काका वा ठूलाबाको क्षमता पनि छैन । सानु आफ्ना काकाहरुका पनि थुप्रै सन्तान रहेको सुनाउँछन् ।

सानुलाई दिनदिनको छाक टार्ने कुरै दिनभरिको सबैभन्दा ठूलो सपना हुन्छ । तर अर्काे मनले भन्छ, दिनभरि खानेकुरामात्रै खोज्ने कि पढ्ने उपाय पनि गर्ने ? तर त्यो उनको बसमा छैन ।

‘पढ्न त मन छ नि, पैसै छैन के गर्ने त,’ सानुले भने । आफूहरु बन्द कोठामा सुत्न चाहेको सानु बताउँछन् । ‘यहाँ सुत्न नै डर लाउँछ, कोठामा सुत्न पाए नि हुन्थ्यो,’ सानुले सुनाए । आफूहरुलाई प्रतीक्षालयबाट खेदिने गरेपनि त्यो बाहेक बस्ने उपाय नभएको उनीहरु बताउँछन् । उनीहरु पनि एउटा सग्लो घर चाहँदा हुन् । तर नगरपालिकाको आँखामा उनीहरु परेका छैनन् ।

नगरपालिकामा सडक बालबालिकासम्बन्धी कुनै तथ्य आफूसँग नरहेको शुक्लागण्डकीका नगर प्रवक्ता खिमबहादुर कुमालले बताए । यस सम्बन्धमा सम्बन्धित वडाध्यक्षसँग बुझेर नगरपालिकाले बालबालिकाको व्यवस्थापन गर्ने कुमालले जोडे ।

‘नगरमा सडक बालबालिकाको तथ्य पाएको छैन, हामी त्यसबारे ती बालबालिका भेटेर व्यवस्थापन गर्छौं,’ नगर प्रवक्ता कुमालले भने ।

तस्बिरः सन्देश ढकाल

सम्बन्धित खबर