शनिबार, २२ फागुन २०७७
samadhannews
मानवता मरेको छैन

मानवता मरेको छैन

शनिबार, ०३ माघ २०७७

सम्झनाको काखमा अर्का ३ महिने शिशु पनि हुन्छन्, जो सम्झनाको आफ्नै सन्तान होइनन् । ती शिशुलाई सम्झना आफ्नै छोरीलाईजस्तै माया गर्छिन् ।

अनिष भट्टराई, पोखरा

काठमाडौंका ज्ञानबहादुर कार्की बस चलाउँथे । श्रीमती उनलाई छाडेर कुवेत हानिइन् । छोरी पनि साथमा रहिनन् ।

प्रेसरका बिरामी कार्की काठमाडौं–पोखराको बस चलाउँदा एकदिन गगनगौंडा साथीकहाँ बस रोके । उनका साथी र कार्की भएर दुई बोत्तल रक्सी र मासु खाँदै थिए ।

कार्कीलाई ‘ज्यान सिरिंङ’ भएको अनुभव भयो । एकैछिनमा उनको टाउको फुल्दै गयो । टाउको फुलेर अस्वाभाविक रुपमा ठूलो भएपछि उनी अचेत भए । होस खुल्दा उनी मनिपालमा थिए ।

‘प्रेसरले हानेपछि टाउको ठुलो भएको थाहा थियो, मनिपालमा ब्युँझें, टाउको त खर्लप्पै भित्र पो छिरेको रैछ,’ कार्कीले भने ।

अहिले उनको दाहिने पाटो भित्र छिरेको छ, उनी स्पष्ट बोल्न सक्दैनन् । मनिपालमा ४ दिन बसेका उनको खर्च सबै यातायात मजदुर व्यवसायी संघले व्यहो¥यो । तर उनलाई ख्याल गर्ने कोही भएनन् ।

अलपत्र उनलाई छोरेपाटनमा रहेको मानव सेवा आश्रममा राखियो । सुरुमा लैजाँदा बोल्नै नसक्ने उनी अचेल बोल्न सक्छन् । उनलाई आश्रमको गेट, पानीको जिम्मा दिइएको छ ।

‘सुरुमा ल्याउँदा त हिँड्न, बोल्नै नसक्ने अवस्थामा हुनुन्थ्यो, अहिले बोल्न, हिँड्न सक्नुहुन्छ । आश्रमको गेट, पानीको अवस्था उहाँले हेर्नुहुन्छ,’ आश्रमकी सहसंयोजक सम्झना बर्तौलाले भनिन् ।

आफू पहिलाभन्दा निस्फिक्री बाँचिरहेको कार्की बताउँछन् । यातायातबाट गराएको बिमाको केही पैसा पाइरहेका छन् । २ वर्ष ४ महिनायता आश्रममा रहेका कार्की खुसी रहेका बताउँछन् । ‘पैसा पनि पाइराछु, यहाँ एकदमै रमाइलो छ,’ उनले भने, ‘म नचाहिने गर्दिनँ, त्यही भर जिम्मा दिनुभको हो, उहाँ(सम्झना)लाई बहिनी भन्छु, टीका पनि लाउँछु ।’

आश्रममा कार्की बोलेको सुनिरहेकी थिइन्, स्याङ्जाकी देवी अर्याल (४३) । अरु भने बजिरहेको ‘रामसिया राम सियाराम जयजय राम’ भजन सुन्दै थिए । आश्रमको आँगनको छेउपट्टि बसेकी अर्याल घरि भजनमा लठ्ठ भएर थपडी मार्थिन् त घरि कार्कीको कुरा चनाखो भएर सुन्थिन् ।

कार्कीको जस्तै कथा अर्यालको पनि छ । पोखरा रामबजार माइती भएकी उनको विवाह स्याङ्जामा भयो । उनका २ छोरा र १ छोरी छन् । छोराहरु दुवै भारत छन् । स्याङ्जामा एक्लै भएपछि उनलाई त्यहाँ बस्न मन लागेन । उनी पोखरा फर्किएर मजदुरी गर्न थालिन् ।

घर बनाउने काममा लागेकी अर्याललाई एकदिन मार्बल काट्नेबेलामा करेन्ट लाग्यो । ३ महिना उनी गण्डकी (पञ्चिमाञ्चल क्षेत्रीय) अस्पतालमा बस्नुप¥यो । अस्पतालबाट निस्किएपछि उनी सडकमा पुगिन् ।

रामबजारको सडकपेटीमा बसेकी उनलाई मानव सेवा आश्रमले देखेपछि उद्धार ग¥यो । ‘पहिला हिँड्न नै सक्दिनँ थें, अहिले यी लौरो टेकेर सुस्तोसुस्तो हिँड्छु,’ उनी आफू ठीक भएको देखाउँदै भनिन् ।
उनलाई आफ्ना छोराहरुसँग भेट्ने रहर छ ।

६ महिनाअघि भेटेपनि उनको न्यास्रो मेटिएको छैन । ‘खै, वैशाखमा आउने भन्छन्, कुलाइन पूजामा पनि आएनन्, अब आउँछन् कि, भेट्न मन छ,’ उनले भनिन् ।

श्रीमान् वेपत्ता भइदिँदा बागलुङकी लक्ष्मी थापा क्षेत्री (२७) २ छोरासँगै अलपत्र परिन् । भोको पेटसँगको लडाइँ लड्न उनी पोखरा आइन् । २ छोरा ६, ७ वर्षका भए, अहिले उनीहरु हजुरबा, हजुरआमासँग बस्छन् ।

काम गरेर पैसा कमाएर छोरा पढाउने मनले पोखरा झरेकी थापा काम गर्ने क्रममा कुकुरले टोकेपछि अचेत अवस्थामा पुगिन् । उनलाई उपचार गरेपनि पूरै सञ्चो हुन सकेन । अस्पताललले नराख्ने भएपछि मानव सेवा आश्रममा उनलाई लगियो ।

‘ख्वाउने, पढाउने पैसा कमाउन पोखरा आ’को, कुकुरले टोक्दा यस्तो हालत भो,’ लक्ष्मी भन्छिन् । उनी ३ महिना थला परेर खाटमै बस्नुपर्दा आश्रमले नै उनको स्याहार ग¥यो । ‘३ महिना त हामीले नै दिसापिसाब सोहो¥यौं,’ आश्रमकी सहसंयोजक सम्झना भन्छिन्, ‘अहिले हिँड्न, डुल्न सक्नुहुन्छ, श्रीमान भने भेटिनुभाछैन ।’

यी र यस्तै १ सय ३ जना अहिले मानव सेवा आश्रमछोरेपाटनमा आश्रित छन् । शनिबारमात्र तनहुँका सडकहरुमा अलपत्र ९ जनालाई मानव सेवा आश्रमले ल्याएको छ ।

आश्रमको संयोजन राजन सापकोटाले गरिरहेका छन् र उनकी श्रीमती सम्झना बर्तौला पनि राजनसँग काँधमा काँध मिलाउँदै समर्पित छिन् ।

मानसिक अवस्थामा कमजोर केहीले नराम्रो बोली गरेपनि उनीहरु हाँसेरै बोलिदिन्छन् र राम्रो बोल्न प्रेरित गर्छन् । अहिलेसम्म उनीहरुले ३ सय जनालाई आश्रय दिइसकेका छन् । जसको कोही छैन, उसको सरकार हुन्छ भनिन्छ, तर वास्तविकतामा त्यस्तो कहाँ हुनु ? बरु हेटौंडाबाट सुरु भएर देशका थुप्रै सहरमा खुलेको मानव सेवा आश्रमले त्यस्तै भनाइ स्थापित गर्दैछ,‘जसको कोही छैन, उसको मानव सेवा आश्रम छ ।’

हेटौंडाको यो दम्पत्तीयहाँ आउनुअघि उहींको आश्रममा आवद्ध थिए । ‘हेटांैडामा पनि आश्रममा सेवा गरेथ्यौं, अहिले यहाँ पनि सेवा गर्न पाछौं, खुसी लाउँछ, उहाँहरुको हाँसो नै हाम्रो हाँसो हो,’ सम्झनाले भनिन् । त्यसो त सबैभन्दा पहिला मानव सेवा आश्रम हेटौंडामै खुलेको हो । अहिले भने देशका अरु थुप्रै सहरमा पनि छन् ।

म्झना र राजनकी छोरी अहिले मन्टेसरी पढ्छिन् । तर सम्झनाको काखमा भने अर्का ३ महिने शिशु पनि हुन्छन्, जो सम्झनाको आफ्नै सन्तान होइनन् । ती शिशुलाई सम्झनाले आफ्नै छोरीलाईजस्तै माया गर्छिन् ।

‘यो बाबुलाई यिनको आमाले फाल्न लाएको देखेर वडाध्यक्षले यहाँ पठाइदिनुभको हो, ल्याउँदा ४५ दिनको थियो,’ सम्झनाले थपिन्, ‘अहिले ३ महिनाको भयो, आमाले लिन आए त फिर्ता दिनुपर्छ नत्र हामीनै ख्याल राख्छौं ।’

३ महिने शिशुभन्दा ठूला बालबालिकाहरु पनि आश्रमले उद्धार गरेको थियो । तर ती बालबालिकाहरुलाई भने गोरखाको आश्रम पठाइन्छ । गोरखामा अध्ययन गर्न सक्ने सुविधासँगै बालबालिकालाई राखिन्छ । ‘यहाँ राख्यो भने नराम्रो शब्द पनि सिक्छन्, गोरखामै पठाउँछम्, दसैंमा यहाँ आउँछन्,’ राजनले भने ।

आश्रम चलाउन उनीहरुले मासिक १ लाख रुपैयाँमा घर भाडामा लिएका छन् । घर भाडा र खर्च सबै केन्द्रीय समिति र व्यक्तिगत सहयोगबाट आउँछ । व्यवस्थापनमा उनीहरुले ठूलो समस्या झेल्नुपरेको छैन । तर कहिलेकाहीँ आश्रममा मानिस बिरामी पर्दा भने उनीहरुलाई आपत नै आइलाग्छ ।

मृत्यु भए कानुनी प्रक्रिया पु¥याएर दाहसंस्कार गर्न पाउँछन् । ‘यहाँ ३०÷४० जनाको मृत्यु भइसक्यो, पहिला मुचुल्का उठाएर, पोस्टमार्टम गरेर अनि बल्ल हामीले सद्गत गर्न लैजान पाउँछौं,’ सम्झना भन्छिन्, ‘सद्गद हाम्रै खर्चमा हामी आफैं गर्छौं, गाडी त प्रहरीले मिलाउँछ ।’

सम्बन्धित खबर