बिहिबार, २० फागुन २०७७
samadhannews
ताराखोलाको आफ्नै ब्रान्ड छ

ताराखोलाको आफ्नै ब्रान्ड छ

आइतबार, ११ माघ २०७७

अमृत सुवेदी, बागलुङ

लोकल कुखुराको सुपमा फापरको डिँडो डोब्नु र क्वाप्प खानु । थालको एक छेउमा छ, गाउँमै फलेको आलु । अर्को छेउको रायोको सागमा हात गइहाल्छ ।

मगमगाइरहेको भाँगोको चट्नी जब मुखमा पर्छ, ट्वाक्क जिब्रो पड्किहाल्छ। पुस २४ गते साँझ किकल्टामा यस्तै भयो । किकल्टा ताराखोला गाउँपालिका बागलुङको होमस्टे गाउँ हो र यो किकल्टाले पस्कने स्वाद हो ।

किकल्टा होमस्टे पुगेका पाहुनालाई घर नम्बर १ की फूलमाया रोका भन्छिन्, ‘जे भन्नुहुन्छ, त्यही बनाउँछौं । थपीथपी खानुस् हजुर, केही बिगार गर्दैन ।’ नवलपुरदेखि गण्डकीका विभिन्न पर्यटकीय ठाउँको प्रवद्र्धन गर्दै पुगेको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको टोलीले ताराखोलाको बेग्लै स्वाद लिए ।

मांसहारी हुन् या शाकाहारी, रोजाइमा लिन पाउँछन्, गाउँकै उत्पादनबाट बनेका परिकारका स्वाद ।

पाहुनालाई पस्कने ताराखोलाको आफ्नै ब्रान्ड छ । गण्डकी प्रदेशमै ताराखोलाको आलु भनेपछि हुरुक्कै हुनेहरुको ठूलो जनसंख्या छ । ताराखोलाको भाँगो भन्नेबित्तिकै पारखीहरुको मुख रसाइहाल्छ । ताराखोलाको रायोको साग मुस्ताङी सागकोजस्तै खोजी हुन्छ । ताराखोलाको ट्राउट माछा पनि रोजाइकै परिकार हो ।

थोरै पैसामा सुन्दर दृश्यसँगै गाउँको मजा, स्थानीय परिकारको स्वाद, सांस्कृतिक तथा पारिवारिक बसाइ चाहनेका लागि ताराखोला उपयुक्त गन्तव्य हुन सक्छ । १ हजार रुपैयाँमै एक रातमा भरपूर आनन्द ताराखोलाले दिन सक्छ ।

पाहुनाले जे खान चाहना गर्छन्, ताराखोलाले आफैंले फलाएको उपजकै परिकार खुवाउने किकल्टा होमस्टेको अध्यक्षसमेत रहेकी फूलमायाले बताइन् ।

किकल्टा पुग्ने पाहुनाले स्थानीय खानाको स्वादसँगै पारिवारिक बसाइको आनन्द लिन पाउने त्यहाँ पुगेका नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेलले बताए ।

‘नवलपुरदेखि ढोरपाटनसम्म पर्यटन बोर्डको सहयोगमा हामी पुगेका गाउँ÷ठाउँमध्ये ताराखोलाको छुट्टै स्वाद पायौं । बेग्लै विशेषता र सम्भावना देखियो,’ पौडेलले भने, ‘ढोरपाटन सिकार आरक्ष आउजाउ गर्ने पर्यटकलाई गाउँ भित्राउन सकियो भने ताराखोलाले अझै फड्को मार्ने छ ।’

१४ सय मिटरदेखि ३५ सय मिटर उचाइमा रहेको डुँडेलेकको धुरीसम्मै ताराखोलाले पर्यटकलाई लोभ्याउन सक्छ । गुल्मीका गाउँदेखि ढोरपाटन सिकार आरक्षाको फाँटसँगै हिमशृंखला र मनोरम दृश्य हेर्न सकिने डुँडेलेकले पर्यटकलाई तानिरहेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीमगरले बताए ।

‘पदयात्रासँगै मनोरम दृश्यको मजा होस् या ब्रान्ड बनिसकेको उत्पादनको स्वाद होस्, सांस्कृतिक विविधता होस् वा ऐतिहासिक सम्पदाको उत्खनन्, ताराखोलाले पस्किन सक्छ,’ गाउँपालिका अध्यक्ष घर्तीले भने, ‘ताराखोलासँग विविधता नै विविधता छ ।’

ताराखोला गाउँपालिकाले २०७७ साललाई भ्रमण वर्ष घोषणा गरेको थियो । पर्यटन प्रवद्र्धन तथा भ्रमण वर्ष सफल पार्न गाउँपालिकाले ७० लाख रुपैयाँ बजेट छुट्याइएको थियो ।

बजेट पर्यटनमैत्री पूर्वाधार निर्माण र प्रवद्र्धनलाई गाउँपालिकाले जोड दिएको थियो । तर, कोभिड–१९ पालिकाको योजनामा बाटो छेक्न आइपुग्यो । बजेट खर्च हुनै पाएन । पालिकाले यो वर्ष पनि पर्यटन प्रवद्र्धनका लागि महत्वको साथ बजेट छुट्याएको छ ।

‘पर्यटन भ्रमण वर्ष सफ पार्न होमस्टे गाउँहरु व्यवस्थित बनाइरहेका थियौं । पूर्वाधार निर्माण गरिरहेका थियौं । कोभिडका कारण कार्यान्वयन गर्न सकेनौं,’ गाउँपालिका अध्यक्ष घर्तीले भने, ‘कोभिड–१९ को संकटपछि फेरि पर्यटक ताराखोला भित्रिरहेका छन् ।’

ताराखोलामा किकल्टासँगै ४ होमस्टे गाउँ छन् । ताराखोला–२ अर्गलमा किकल्टा र वडा नं ५ ठूलो हिलेमा हिले होमस्टे सञ्चालनमा छन् । यी दुबै होमस्टेमा गाउँपालिकाले १० लाख लगानी गरेको छ ।

वडा नं ४ छम्टुमा ताराखोला बहुउद्देश्यीय सामुदायिक रेम्बो ट्राउट होमस्टे र वडा नं ५ मा सीप सामुदायिक होमस्टे सञ्चालनमा छन् । यी होमस्टेमा गण्डकी प्रदेश सरकारले १०÷१० लाख रुपैयाँ अनुदान दिएको थियो ।

घुम्टे, डुँडेलेकजस्ता पर्यटकीय महत्वका स्थल ताराखोलामा छन् । गाईघाट झरनामा टिकटक बनाउने, सेल्फी खिच्नेको भीड अहिले पनि लागिरहेको छ । गाईघाट झरनामा निजी क्षेत्रबाट स्विमिङ पुल, साउना, होटल रेस्टुरेन्ट निर्माण गरिरहेको र त्यसले पनि ताराखोलाको पर्यटकीय क्षमता तथा महत्वलाई बल पु¥याउने अध्यक्ष घर्तीको विश्वास छ ।

आलु, साग, भाँगो, ट्राउट माछालाई ब्रान्ड बनाइसकेको ताराखोलाले गएको वर्षमात्र २० लाख रुपैयाँको अलैंची बेचेको छ । हाते कागजका लागि चिनिएको ठाउँ हो, ताराखोला । ‘अहिले ताराखोलाको किबी र अलैंचीले पनि ख्याति कमाइरहेको छ,’ गाउँपालिका अध्यक्ष घर्तीले भने, ‘पर्यटन र उत्पादनलाई जोडेर स्थानीयको जीवन उकास्ने प्रयत्न गरेका छौं ।’

पर्यटकीय सम्भावनालाई जोड्न र सभा, सम्मेलनमार्फत पर्यटन भिœयाउन भनेर ताराखोलामा ५ सय जना क्षमताको सभा हल निर्माण भएको छ । २ करोड ६५ लाख रुपैयाँमा निर्माण गरिएको सभा हल बागलुङ जिल्लाकै ठूलो हो ।

सिलेट ढुंगा प्रशस्त पाइने धेरै स्थानहरु ताराखोलामै छौं । ‘पहिले सिलेट ढुंगाको कारोबार पनि हुन्थ्यो, पछि रोकियो,’ अध्यक्ष घर्तीले भने, ‘कार्यविधि र मापदण्डलाई टेकेर संघीय मन्त्रालयबाट स्वीकृत लिएर ऐन निर्माण गरी सिलेट ढुंगा निर्यातको प्रक्रिया सुरु भइसकेको छ । यसले राजस्वको दायरा बढाउँछ ।’

धेरै सम्भावना भए पनि ताराखोलाले भोग्ने दुख सडककै हो । बर्खा याममा स्तरीय सडक नभएकै कारण स्थानीय र पाहुनाले पनि दुख खेप्नुपर्ने बाध्यतालाई हटाउन उपल्ला सरकारहरुसँग अध्यक्ष घर्तीले गुहार मागिरहेका छन् ।

बागलुङ सदरमुकामदेखि ५० किलोमिटर टाढाको ताराखोलामा पिच सडक नभए पनि बाह्रैमास गाडी चल्ने व्यवस्थित सडक बनाउने सपना घर्तीको छ ।

ब्रान्ड बनिसकेका उपजलाई व्यावसायिक बनाउने, उत्पादनलाई बजार पु¥याउने र स्थानीयको जीवन उकास्ने अभियान ताराखोलाले चलाइरहेको छ । भुस पोल्ने, सिस्नो खोस्ने पर्व, असारे मेलाजस्ता संस्कृति तथा पर्व ताराखोलामा चल्दै आएको छ ।

यस्ता ऐतिहासिक परम्पराको जगेर्ना गर्दै पर्यटकलाई जोड्ने प्रयत्न गर्ने गाउँपालिकाको योजना छ ।

सम्बन्धित खबर