बुधबार, ०८ बैशाख २०७८
samadhannews
झिक्न थालियो फेवाको गेग्य्रान

झिक्न थालियो फेवाको गेग्य्रान

बुधबार, १९ फागुन २०७७

अनुप पौडेल, पोखरा

पोखरा महानगरपालिका र प्रदेश सरकार मिलेर २०७५ माघ दोस्रो साता फेवातालबाट गेग्य्रान झिक्न सुरु गरे । त्यतिबेला गाईघाट, खहरे लगायतका ठाउँबाट १० दिन लगाएर २० हजार घनमिटरभन्दा बढीमाटो, बालुवा निकालियो ।

त्यही वर्ष चैत अन्तिममा खपौंदी क्षेत्रबाट पनि माटो निकाल्न सुरु गरियो । त्यहाँबाट निकालेको माटो सीमसार क्षेत्रमा थुपारेपछि विरोध भयो । त्यसपछि माटो झिक्ने क्रम रोकियो ।

अहिले फेरि गण्डकी प्रदेश सरकारले तालको माटो हटाउन सुरु गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बनाएको समितिले तालको गाईघाट क्षेत्रमा बनेको तिनै टापुबाट मंगलबारदेखिमाटो झिक्ने काम थालेको छ ।

अभियानको पहिलो दिन प्रदेश पर्यटन मन्त्री विकास लम्साल, सचिव डा. महेश्वर ढकाल, नागरिक समाज, जनप्रतिनिधि लगायत गाईघाट क्षेत्र पुगेका थिए ।

तालको ड्यामसाइडदेखि खहरेसम्म १५ हजार घनमिटर माटो झिकिने समिति संयोजक रामकाजी श्रेष्ठले जानकारी दिए । ‘त्यहाँ ५/६ घनमिटर जति माटो होला, त्यहाँ ४/५ दिन लाग्छ । अरु ठाउँको सहित गरी १५ दिन जति लाग्छ,’ उनले भने ।

मन्त्रालयले फेवातालमा थुप्रिएका माटोसहित गेग्य्रान झिक्न २ फागनुमा माटो, ढुंगा, गिट्टी, फोहोरमैला व्यवस्थापन गर्न समिति बनाएको थियो । १५ दिनको तयारीपछि त्यो समितिले तालमा जम्मा भएको गेग्य्रान मंगलबारदेखि झिक्न सुरु गरेको हो ।

फिर्के खोलाले बगाएर ल्याएको गेग्य्रानले पुरिएको गाईघाट क्षेत्र ।

काम सुरु गरे पनि बजेट अभावले तोकिएको ठाउँबाट माटो झिकिनेमा समिति संयोजक नै विश्वस्त छैनन् । अहिले आफूहरुसँग ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशको ५ लाख रुपैयाँ रहेको र बाँकी पैसाको जोहो गर्न लागिएको संयोजक श्रेष्ठले सुनाए । ५ लाख रुपैयाँले २७ सय घनमिटर जति माटो झिक्न पुग्छ । त्यो करिब साढे ४ सय टिपर हो ।

बाँकी कामका लागि पनि अरु नै शीर्षकमा रहेको पैसा माटो झिक्न प्रयोग गर्ने गरी महानगरसँग छलफल भइरहेको संयोजक श्रेष्ठले बताए । १५ हजार घनमिटर गेग्य्रान निकाल्दा १ करोड ३३ लाख रुपैयाँ खर्च लाग्नेस्टिमेट जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्कीले गरेको छ । मान्छे लगाएर काम गर्दा २५ लाख रुपैयाँ खर्च आउँछ ।

गाईघाट अरु ठाउँभन्दा धेरै माटो थुप्रिएको क्षेत्र हो । १५ हजार घनमिटरमध्ये ५ हजार घन मिटर त्यहीँबाट निकालिनेछ । गाईघाटपछि टापु बनेर ताल नै ढाकेको अर्को ठाउँ हो, खहरे क्षेत्र । त्यहाँबाट पनि २ हजारदेखि ४ हजार घनमिटर माटो निकालिनेछ ।

‘मन्त्रीज्यूले पनि पहल गरिराख्नुभएको छ । महानगरले पनि केही पैसा दिन्छौँ भनेर बोलेको हुनाले काम रोकिँदैन भन्नेमा विश्वस्त छौँ,’ समिति संयोजक श्रेष्ठले थपे, ‘भनेजस्तो नभए पनि बर्खामा पानी भरिने जति काम गर्न सकिन्छ ।’गाईघाटबाट झिकिएको माटो कोमागाने पार्कमा व्यवस्थापन गरिएको छ । तालकै अरु ठाउँबाट झिकिने माटो नजिकैको खुला चौरमा व्यवस्थापन गरिने संयोजक श्रेष्ठले सुनाए ।

प्रदेश वातावरण मन्त्री विकास लम्सालले काम गर्न बजेट अभाव हुन नदिने सुनाए । जनताले प्रश्न नउठाउने गरी काम गरिने उनले बताए । ‘काम गर्न पठाएको पैसा जहाँ खर्च भएको छैन, त्यो पैसा फागुन महिनाभित्रै सरेन्डर गर्न लगाउँछौँ । संसदले पास गरेको बजेट त्यत्तिकै ल्याउने अधिकार छैन,’ उनले भने, ‘उनीहरुले सरेन्डर गरेर, अर्थ मन्त्रालयसँग सहमति गरेर पैसा जुटाउँछौँ ।’

गत माघ अन्तिम साता फेवातालको बाँध मर्मत गर्न तालमा पानीको सतह घटाइयो । पानी घटाएपछि तालमा थुप्रिएको माटो झिक्न जनस्तरबाट आवाज उठेको थियो । तर प्रदेश सरकारले खासै चासो दिएन । १ फागुनमा नागरिक समाजले तालको माटो, ढुंगा, गिट्टी झिक्न डोजर नै चलायो । त्यो कार्यक्रममा प्रदेश पर्यटन सचिव डा. महेश्वर ढकाल पनि थिए । गत शुक्रबारदेखि पानी भर्न सुरु गरिएको हो ।

नागरिक समाजले डोजर चलाएको भोलिपल्ट सचिव ढकालकै पहलमा मन्त्रालयलेगेग्य्रान झिक्न समिति बनाएको थियो । फेवातालको बाँध मर्मतको काम भने सकिएको छ ।

गाईघाटदेखि खहरे क्षेत्रको अन्तिम विन्दु गैराको चौतारासम्मका विभिन्न ठाउँको माटो निकाल्ने २ फागुनकै बैठकले निर्णय गरेको थियो । त्यही बैठकबाट कार्य विभाजन पनि गरिएको थियो ।

बाँधदेखि फिर्केखोलासम्म पर्ने ताल क्षेत्रमा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्की, फिर्केखोलादेखि कोमागाने पार्कसम्म पोखरा महानगरपालिका र ताल संरक्षण तथा विकास प्राधिकरण, बाराहीघाटदेखि खहरे क्षेत्रको अन्तिम विन्दु (गैराको चौतारा) सम्म ताल संरक्षण तथा विकास प्राधिकरण पोखरा र भू तथा जलाधार व्यवस्थापन कार्यालयले काम गर्ने जिम्मा तोकिएको छ ।

प्रदेश सरकारले बनाएको समितिमा ताल प्राधिकरण गण्डकी प्रदेशका निर्देशक डा. अनुप गुरुङ, पोखरा महानगरपालिका सहरी योजना आयोगका सदस्य सरोज कोइराला, डिभिजन वन कार्यालय कास्की प्रमुख केदार बराल, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्की प्रमुख इन्जिनियर किरण आचार्य, बृहत् जलाधार व्यवस्थापन केन्द्र गण्डकी प्रमुख रामसिंह थापा, जलाधार व्यवस्थापन कार्यालय तनहुँ प्रमुख कृष्णप्रसाद घिमिरे लगायत सदस्य छन् ।

सम्बन्धित खबर