आइतबार, २६ बैशाख २०७८
samadhannews
Sanima Bank New year offer

कसैलाई सजिलो पार्न काम गर्दिनँ

सोमबार, २० बैशाख २०७८

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई पदमुक्त गरेर सरकारले सीता पौडेललाई पदमा नियुक्त गरेको छ । माओवादी निकट शेरचनलाई हटाएर ओली निकट पौडेललाई पदमा नियुक्त गरिएको हो ।

सीता पौडेल नेपाली कम्युनिस्ट आन्दोलन कि अगुवा हुन् । उनी चितवनबाट एमालेकी उम्मेदवार पनि थिइन् । अहिले प्रधानमन्त्री कार्यालयमा सल्लाकार विज्ञ समूहमै छिन् । पोखरामा भएको अखिल नेपाल महिला संघको महाधिवेशनाट विद्या भण्डारी अध्यक्ष हुँदा पौडेल महासचिव थिइन् ।

प्रस्तुत छ प्रदेश प्रमुख पौडेलसँग गरिएको कुराकानीको संक्षिप्त अंश

गण्डकी प्रदेशको तेस्रो प्रदेश प्रमुख हुनुभएको छ, अहिलेको राजनीतिक विषम परिस्थितिमा कसरी अगाडि बढ्नुहुन्छ ?

मैले जीवन नै राजनीति र संघर्षमा गुजारें । आन्दोलनमा होमिएँ । पार्टी र जनताका निम्ति भनेर खटिएँ । आज त्यसैको फलस्वरुप प्रधानमन्त्रीले गण्डकी प्रदेश प्रमुख बनाउनुभएको छ । पदीय मर्यादा र दायित्व हेरेर सबैको सहमतिमा अगाडि बढ्ने छु । धेरै समस्या त त्यहीँ पुगेपछि थाहा होला । जुन पार्टीमा लागे पनि सबैको साझा बन्ने प्रयत्न गर्ने छु ।

प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुँदै गर्दा अप्ठेरो परिस्थितिमा टपक्क टिपेर पठाउनुभएको छ, गण्डकी प्रमुखको जिम्मेवारीबारे सोच्नुभएको थियो ?

राजनीति सिधा बाटोमा हिँड्दो रहेनछ । अहिलेको अवस्थामा आएर प्रदेश प्रमुखको जिम्मेवारी मेरो कल्पनाभन्दा बाहिरकै कुरा हो । यो मैले सोचेको विषय होइन, थिइनँ ।

लामो समय एमाले राजनीतिमा लागेकै कारण प्रधानमन्त्रीले प्रदेश प्रमुखको पद थमाएका छन्, त्यो पनि अहिलेको जटिल राजनीतिक अवस्थामा के होला त कारण ?

चुनौतीको आत्मसात गरेर आएकै कारण अहिलेसम्म राजनीतिमा टिकेकी हुँ । नत्र चुनौतिको सामाना गर्न नसकेको भए ५० वर्षको राजनीतिक यात्रा तय हुँदैनथ्यो । सबै जानेर आइएको हुँदैन, सिक्दै जाने हो । कर्तव्य, अधिकार क्षेत्र सबै कुरा ख्याल गरेर काम गर्न प्रधानमन्त्री जिम्मेवारी दिनुभयो भन्ठानेकी छु ।

प्रदेश प्रमुखलाई निष्पक्ष र तटस्थ पद मानिन्छ तर गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि अविश्वास प्रस्ताव संसदमा रहेका बेला सेटिङ मिलाउन तपाईंलाई जिम्मेवारी दिइयो भन्ने आरोप छ नि ?

प्रदेश प्रमुख फेर्ने प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिको अधिकारको कुरा हो । उहाँले मूल्यांकन गरेर जसलाई प्रदेश प्रमुख बनाउँदा त्यहाँको समस्याको ट्याकल गर्न सक्छ भनेरै मलाई पठाउनुभएको होला ।

सत्तारुढ दललाई सजिलो पार्नका निम्तिमात्रै पक्कै होइन होला । म मेरो पदीय जिम्मेवारीबाट के भूमिका निभाउनुपर्छ, पदीय मर्यादा कसरी कायम गर्नुपर्छ भन्नेमा निष्पक्ष लाग्ने छु ।

सम्बन्धित खबर