मङ्गलबार, १२ साउन २०७८
samadhannews
Sanima Bank New year offer

कोरोनाका कारण अन्योलमा मुस्ताङको शैक्षिक सत्र

आइतबार, १६ जेठ २०७८

सुन्दरकुमार थकाली \जोमसोम

कोरोनाका कारण थलिएको देभभरको शैक्षिक संस्थाको प्रभाव हिमाली जिल्ला मुस्ताङको ५ स्थानीय तहमा समेत परेको छ । बर्सेनि फागुनको पहिलो साता सञ्चालन हुनु पर्ने यहाँको नयाँ शैक्षिक सत्रको पठन÷पाठन कोरोना माहामारीका कारण अन्योलमय बनेको हो ।

कोरोनाको दोश्रो भेरियन्टसंगै मुस्ताङका विद्यालयले जोखिम मोलेर चालु शैक्षिक सत्रको बार्षिक परीक्षा संम्पन्न गरेका थिए । मुस्ताङका ५ स्थानीय तहका सामूदायिक ,निजि र गुम्बा विद्यालयहरुले जनजिवन सामान्य नभएको र अझै विद्यालय सञ्चालन गर्न सक्ने अवस्था नरहेको शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङले जनाएको छ ।

मुस्ताङका ५१ सामुदायिक विद्यालयसहित निजी र गुम्बा विद्यालयहरुले गत बैशाख १० गते देखि बैशाख मशान्तसम्म कोभिड—१९ को जोखिम मोलेर हतार÷हतारमा बार्षिक परीक्षा संम्पन्न गरेका थिए ।शिक्षा विकास तथा समन्वय ईकाईको पहलमा मुस्ताङका ५ स्थानीय तहको समन्वयमा आर्थिक वर्ष २०७८ को नयाँ शैक्षिक सत्रको पठन÷पाठन जेठ १ गतेबाट संञ्चालन गर्ने भनिएकोमा कोरोनाको दोश्रो भेरियन्ट समुदाय स्तरमा फैलिएपछि आगामी शैक्षिक सत्रको पढाई अन्योल बनेको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख टंकराज बरालले जानकारी दिए ।
यसअघि मुस्ताङका स्थानीय तह ,शिक्षकका पेशागत संघ÷संगठनका प्रतिनिधि र जिल्लाका माध्यमिक तहका प्रधानाध्यापकहरुको संयुक्त बैठकले जेठ १ गतेबाट नयाँ शैक्षिक सत्रको पढाई सुरुआत गर्ने निर्णय गरेका थिए । पछिल्लो समय मुस्ताङमा कोरोनाको दोश्रो लहर समुदाय स्तरमा फैलिदै गईरहेकाले विद्यालयको शैक्षिक सत्रको पठन÷पाठन सुरु गर्ने वातावरण बन्न नसकेको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख बरालले उल्लेख गरे ।

यस्तै, मुस्ताङका ५ स्थानीय तहले पनि नयांँ शैक्षिक सत्रको पढाई सुरु गर्ने बिषयमा कुनै निर्णय गरेका छैनन् ।उनीहरुले जिल्लामा कोरोना संक्रमणको अवस्था सुधार भई जनजिवन सामान्य भएको अवस्थामा मात्र विद्यालय खोल्ने अवस्था रहेको बताएका छन् ।
देशभरका ७ सय ५३ स्थानीय तह मध्ये हिमाली जिल्ला मुस्ताङका ५ स्थानीय तहमा मात्र चालु वर्षको बार्षिक परीक्षा संम्पन्न भएको शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङको भनाई छ । मुस्ताङको थासाङमा बैशाख ९ गते ,घरपझोङमा बैशाख १० गते,वारागुङ मुक्तिक्षेत्रमा १२ गतेदेखि बार्षिक परीक्षा सुरु गरिएको थियो भने उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापामा बैशाख १५ गतेबाट बार्षिक परीक्षा सञ्चालन गरेका थिए ।
सरकारले हिमाली जिल्ला मुस्ताङसहित मनाङ ,हुम्ला ,मुगु र डोल्पा लगायतमा बर्सेनि फागुन १ गतेदेखि नयाँ शैक्षिक सत्रको पठन÷पाठन र मंसिरमा बार्षिक परीक्षा सञ्चालन गर्ने व्यवस्था गरेको छ । तर, मुस्ताङका विद्यालयले भने कोभिड माहामारीकाबीचमै औपचारिक रुपमा बार्षिक परीक्षा संम्पन गरेका थिए ।

कोरोनाको पहिलो लहरसंगै प्रभावित बनेको मुस्ताङका शैक्षिक संस्थाहरुले बार्षिक परीक्षा आन्तरिक मूल्याङ्कन तथा परीक्षाका आधारमा बार्षिक परीक्षा संम्पन्न गरेको स्थानीय तहहरुले जनाएका छन् ।कोरोनाको पहिलो चरणदेखिनै प्रभावित मुस्ताङका विद्यालयहरुमा केही महिना मात्र शैक्षिक पठन÷पाठन भएको बताईएको छ ।
यसअघि आर्थिक वर्ष २०७७ को शैक्षिक सत्रको पठन÷पाठन समन्वय ईकाई तथा संम्वन्धित स्थानीय तहको समन्वयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन बमोजिम बिद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ र वैकल्पिक शिक्षा सहजीकरण निर्देशिका बमोजिम पढाई सञ्चालन गरेका थिए ।तर,भौगोलिक रुपले विकट उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापामा भएका विद्यालयलाई मन्त्रालयले निर्देशन गरेको कार्यविधि अनुसार पढाई सञ्चालन गर्न चुनौति बनेको थियो ।त्यहाँ रेडियो,टेलिभिजन र ईन्टरनेटको पहँुच नहुँदा वैकल्पिक माध्यमको शिक्षा सहजीकरण निर्देशिका बमोजिम बढाई हुन सकेको थिएन ।

मुस्ताङका ५ स्थानीय तहका विद्यालयले बार्षिक परीक्षा सकेपछि संम्वन्धित शिक्षकहरु घरतर्फ प्रस्थान गरेका छन् । यस्तै ,मुस्ताङका अधिकांश विद्यालयमा जिल्ला बाहिरका बिद्यार्थी पढ्ने भएकाले शिक्षक र बिद्यार्थीकै कारण नयाँ शैक्षिक सत्रको पढाई अन्योल बनेको स्थानीय बताउछन् ।मुस्ताङमा कोरोनाका कारण संक्रमितको संख्या दिनानुदिन वृद्धि हँुदै गईरहेको छ ।
कोरोनाकै कारण शनिबारसम्म ११ जना व्यक्तिले ज्यान समेत गुमाएका छन् । कोरोना संक्रमण बढेसंगै स्थानीय प्रशासनले गत जेठ ३१ गते देखि नियमित मुस्ताङमा निषेधआज्ञा लगाईएको छ । यस्तै ,कोरोना जोखिमकै कारण मुस्ताङका ५ वटै स्थानीय तहका ९६ गाउहरुमा मुखियाले बन्दीबन्दी गरेका छन् ।
देशभर कोरोनाको दोश्रो भेरियन्ट बढिरहेको अवस्थामा सरकारले शैक्षिक सत्रको परीक्षा तथा नयाँ शैक्षिक सत्रको पढाई सुरु गर्ने बारेमा ठोस निर्णय गर्न नसकेकाले पनि मुस्ताङको शैक्षिक सत्र अन्योल बनेको हो ।

यता ,सरकारको निर्देशन बमोजिक शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङले नया शैक्षिक सत्रको पढाई सञ्चालनको आन्तरिक तयार गर्नुपर्ने भन्दै सूचना गरेपनि विद्यालयका प्रअहरु कोरोनाका कारण कार्यस्थल र्फिर्कन सक्ने अवस्था नरहेको समन्वय ईकाईले जनाएको छ ।

सम्बन्धित खबर