पूर्वयुवराज पारसलाई तेस्राे पटक हृदयाघात, स्वास्थ अवस्था अझै गम्भीर

समाधान संवाददाता २०७५ माघ १५ गते १४:५८

सोमबार हृदयाघात भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको अवस्था मंगलबार बिहान पनि स्थिर र गम्भीर रहेको अस्पतालले जनाएको छ।

पूर्णतया बन्द रहेको उनको मुटु सोमबार एन्जियोप्लाष्टी गरी चलायमान गराइएको थियो। उनको उपचारमा चिकित्सकलाई ‘हाइ अलर्ट’ राखिएको छ।

शाह सोमबार सवा चार बजे नर्भिक अस्पताल भर्ना भएका थिए। उनलाई मेजर हार्टअट्याक भएको नर्भिकले जनाएको छ। शाहलाई यसअघि दुई पटक हृदयाघात भइसकेको थियो। एक वर्षयता पारसले मुटु रोगसम्बन्धी औषधी सेवन गरेका थिएनन्।

Advertisement

सन् २००८ मा पारसको दायाँ कोरोनरी धमनीमा ब्लकेज भएपछि ‘एन्जिओप्लास्टी’ गरेर ब्लकेज खोली स्टेन्ट हालिएको थियो। थाइल्याण्डमा रहँदा पनि सन् २०१३ फेब्रुअरीमा पारसलाई हृदयघात भएको थियो। उतै उपचार भएकाले त्यतिबेला उनलाई के-के समस्या भएको थियो भन्ने विस्तृत विवरण थाहा हुन सकेको छैन।

जुलाई २०१५ मा उनको बायाँतिरको धमनी (लेफ्ट एन्टेरियर डिसेन्डिङ) पनि ब्लकेज भएपछि नर्भिक अस्पतालमै भर्ना गरेर खुलाइएको थियो। मुटुमा रहेका मांशपेशी सञ्चालनका लागि हुने रक्तसञ्चार प्रणालीमा यी एलएडी (लेफ्ट एन्टेरियर डिसेन्डिङ) को भूमिका अहम् हुन्छ।

Advertisement

त्यही बेला पारसको छातीमा आइसिडी (इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर) राखिएको थियो। आइसिडीले मुटुको गति निगरानी गर्छ। गति अनियमित हुँदा विद्युतीय सिग्नल पठाएर नियन्त्रण गर्छ।

सोमबार दिउँसो अस्पताल ल्याउँदा पारसको एलएडी ब्लकेज थियो। जसमा सन् २०१५ मा पनि बन्द भएपछि स्टेन्ट हालिएको थियो। अस्पताल ल्याउँदा पारसको मुटुको इजेक्सन फ्र्याक्सन (मुटुले रगत पम्प गर्ने मात्रा) १५ प्रतिशत मात्र थियो। सामान्य अवस्थामा यो ६० देखि ७० प्रतिशतसम्म हुन्छ।

ब्लकेज खुलाएर स्टेन्ट्ट हालिसकेपछि अहिले  सोमबार साँझ उनको इजेक्सन फ्र्याक्सन २५ प्रतिशत पुगेको छ। हृदयघात हुँदा मस्तिष्क र अन्य अंगमा पनि असर पर्न सक्छ। पारसका कुन कुन अंगमा असर परेको छ भनेर सबै परीक्षण हुन बाँकी छ। ‘उहाँ होसमै भएकाले मस्तिष्कमा असर परेको छैन भन्न सकिन्छ,’ स्रोतले भन्यो।

पारस कसरी निको हुन्छन् भन्ने निर्धारण उनको इजेक्सन फ्र्याक्सन सुधार हुन्छ कि हुन्न भन्नेले गर्छ। उनको इजेक्सन फ्र्याक्सन राम्रो हुँदै गयो भने उनको अवस्था पनि सामान्य हुनेछ।

इजेक्सन फ्र्याक्सन २५ प्रतिशतकै हाराहारीमा हुँदा पनि मान्छे बाँचेका उदाहरण छन्। त्यसका लागि बिरामीले निकै अनुशासित जीवनशैली अपनाउनुपर्छ, जुन पारसले अहिलेसम्म अवलम्बन गरेका छैनन्।

पारसको उपचारमा प्राडा. यादवदेव भट्ट लगायत डा. जे.पी. जैसवाल, डा. नग्मा श्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल श्रेष्ठको टोली संलग्न रहेको छ ।

शाहलाई हृदयाघात हुँदा पूर्वराजा र पूर्वरानी सिमरामा थिए । उनकाे स्वास्थ अवस्थाकाे जानकारी पाउनासाथ पूर्वरानी काेमल शाह तत्काल काठमाडाैं आएकी थिइन् भने पूर्वराजा ज्ञानेन्द्र सिमरामैरही फाेनबाट जानकारी लिइरहेका छन् । पारसकी पत्नी पूर्वयुवराज्ञी हिमानी भने अहिले थाइल्यान्डमा छिन् ।

तपाईको प्रतिक्रिया