आइतबार, १७ साउन २०७८
samadhannews
Sanima Bank New year offer

कम्युनिस्ट बीपी, कांग्रेस पुष्पलाल !

मङ्गलबार, ०५ साउन २०७८

झपट रानाभाट
राणाहरूको कोपभाजनमा परेर १४ वर्ष बनारसमा रहँदा बीपी आफैं कम्युनिस्ट थिए । भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा जेल पर्दासमेत उनमा कम्युनिस्ट प्रभाव थियो । पछि जयप्रकाश नारायणको संगतले समाजवादी बने । बुृवा कृष्णप्रसादको प्रेरणाबाट राजनीतिमा लागेका बीपीले २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरे । त्यही राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरणपछि भएको सशस्त्र क्रान्तिले १ सय ४ वर्षे राणा शाही अन्त्य ग¥यो । त्यो क्रान्तिमा पुष्पलाल, एकदेव आले, चित्रबहादुर गुरुङ, मनमोहन अधिकारी आदिले सशक्त रूपमा भाग लिएका थिए ।

मनमोहनले घोषित रूपमा क्रान्ति सँगै गरौं भनेर बीपीलाई धेरै अनुरोध गरे । कम्युनिस्टसित बढी अनुदार बीपी र राजाले त्यो कुरा मानेनन् किनकी छिमेकी भारतसमेत आन्दोलनमा कम्युनिस्ट पार्टीको सहभागिता मन पराउदैनथ्यो । त्यतिमात्र होइन, त्यो क्रान्तिका निम्ति स्वयंसेवक को जिम्मा कम्युनिस्ट पार्टीलाई देऊ भन्दा पनि बीपी मानेनन् । क्रान्ति भयो । दिल्ली सम्झौतालाई धोका भन्दै कांग्रेसका एकदेव आले, चित्रबहादुर गुरुङ लगायतले पार्टीबाट विद्रोह गरे ।

दाजु गंगालालको प्रेरणाबाट राजनीतिमा लागेका पुष्पलाल राष्ट्रिय कांग्रेसकै झन्डामा राणाविरोधी आन्दोलनमा होमिएर जेल परे । बीपी र डा. डिल्लीरमण रेग्मीको कचिंगलबाट आजित उनले कांग्रेस छोडेर २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरे । मृत्युदण्ड दिनुभन्दा १ दिनअघि परिवारका सदस्यसँग गंगालाललाई भेट्न उनी भद्रगोल जेल पुगेका थिए । त्यही गंगालालले भनेका थिए, ‘भाइ (माइला) प्रजातन्त्रको दियोलाई कमजोर हुन नदिनू ।’ दाजुको त्यही वचनले पुष्पलाललाई गरिब, दुःखीको हितमा काम गर्ने कम्युनिस्ट पार्टी स्थापना गर्न प्रेरणा मिल्यो ।

बीपी र पुष्पलाल दुवैको राजनीतिक प्रशिक्षण राणा शाहीको अत्याचार उत्कर्षमा रहँदा भएको हो । कोइराला र श्रेष्ठ परिवारको संस्कारमा पनि धेरै कुराको समानता पाइन्छ । ज्येष्ठ सदस्यको उपस्थितिमा भारतीय स्वतन्त्रता आन्दोलन, भारतीय पत्रपत्रिकामा प्रकाशित समाचार र विचारबारे दुवै परिवारमा दैनिक छलफल हुन्थ्यो । दुवै परिवारका सदस्य आपसमा कुरा गर्दाचाहिँ राजनीतिक विषयले प्रायः प्रवेश पाउँदैनथ्यो ।

राणा, शाह, पञ्च, बहुदल हुँदै गणतन्त्रसम्मको शासन व्यवस्थालाई समीक्षा गर्दा देशले सम्झनैपर्ने २ शिखर नेतामा पुष्पलाल र बीपी कोइराला पर्छन् । उनीहरुलाई नसम्ँिझदा इतिहास र माटोले धिक्कार्ने छ । सम्झनलायक अन्य नेता मनमोहन अधिकारी, मदन भण्डारी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुशील कोइराला पनि छन् नै ।

धेरैले निवर्तमान प्रधानमन्त्री केपी ओलीसँग अलि बढी नै अपेक्षा गरेको पाइन्छ तर दुई तिहाई बहुमतको सरकार बन्दा पनि राजकीय सत्ता र पार्टीभित्रको सत्ताको छिनाझपटीले कम्युनिस्ट पार्टीभित्र सर्वोच्चको फाल्गुन २३ को फैसलाले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् रूपमा पुनर्जीवित ग¥यो । त्यसपछि नेकपा एमालेभित्र माधव नेपाल लगायतका नेताहरूमा देखिएको ईष्या, आरिस्याई, आग्रह पूर्वाग्रह, महत्वाकांक्षा र एउटै पार्टीभित्र रहने, नूनपानी एमालेको खाने गुणगान अरुको गाउने,आफ्नो पार्टीका तर्फबाट निर्वाचित प्रधानमन्त्रीलाई पदच्यूत गर्न जस्तोसुकै घृणित, अक्षम्य र बीजातीय समीकरण गर्ने गरेको देखियो ।

देशी, विदेशी प्रतिक्रियावादीसित चोचोमोचो र वर्ग समन्वय गर्ने काममा टुप्पीसम्मको बल प्रयोग गरी देश,जनता र पार्टी विरोधी गतिविधिमा ज्यान फालेर लागेका छन् ।

विश्वमा बहुदलीय संसदीय अभ्यास भएका मुलुकमै नमिल्ने गरी जनताको आन्दोलन र एमालेलाई क्षतविक्षत तुल्याउन लागे नेपालका महागद्दार माधव नेपाल । आखिर पार्टी नेतृत्वका कारण आम कार्यकर्ताबीच यतिबिघ्न अविश्वास र वितृष्णा आएको कुरालाई राजनीतिक नेतृत्वले गम्भीरतापूर्वक ख्याल गर्नुपर्ने कुरालाई पार्टीको मुख्य नेतृत्वले पछिल्लोपटक कोसिस गरे पनि निषेध र उल्टो हिड्ने गतिविधि आजका मितिसम्म उस्तै छ।

किन सम्झने पुष्पलाल र बिपीलाई ? ६ दशकअघि कांग्रेस सभापति बीपी कोइरालाको नेतृत्वमा दुई तिहाई बहुमतको पहिलो जननिर्वाचित सरकार बनेको थियो । त्यसपछि २ तिहाईको सरकार बनेर देश, जनता र स्थायित्व विरोधीहरुका कारण कम्युनिस्ट पार्टी सरकारबाट अलग भएको छ। १२ वर्षअघि आफैंले स्थापना गरेको दललाई दुई तिहाईमा पु¥याएर बीपी मुलुकको कार्यकारी प्रमुख भएका थिए । पुष्पलालले ७ दशकअघि स्थापना गरेको कम्युनिस्ट पार्टीबाट ओली शक्तिशाली प्रधानमन्त्री बनेको साढे ३ वर्षमा नै यो राजनीतिक अस्तव्यस्तता सृजना गर्ने उद्दत रहे कम्युनिस्ट पार्टीका नेताको ट्यागमा गद्दार माधव नेपाल र प्रचण्ड ।

त्योबेला बीपी मन्त्रिपरिषद्को पहिलो बैठकले प्रधानमन्त्रीको तलब २५ सयबाट १५ सय र मन्त्रीको तलब १५ सयबाट १ हजार बनाएर काम सुरु गरेको थियो । १ सय ९ सदस्यीय प्रतिनिधिसभामा १९ सिट जितेको राष्ट्रिय गोर्खा परिषद्का नेता भरतशमशेरलाई बीपीको जोड–बलले प्रमुख प्रतिपक्षी दलको नेता बनाइयो । हैसियत नपुगेको त्यसमा पनि प्रतिगामी राणाहरूकै दललाई प्रतिपक्षी बनाउनु हुँदैन भनेर त्यतिबेला चर्को विरोध नभएको पनि होइन ।

विपक्षीको अभावमा संसदीय व्यवस्था फस्टाउन सक्दैन भन्ने मान्यता स्थापित गर्न उनले आफ्नै सहकर्मीको विरोधका बाबजुद यो निर्णय लिएका थिए । त्यतिमात्र होइन, ४ सिटमा सीमित कम्युनिस्ट पार्टीका सदस्यलाई समेत उच्च प्राथमिकता दिनैपर्ने थियो । बिर्ता र राजा रजौटा उन्मूलन, क्रान्तिकारी भूमिसुधार, वनको राष्ट्रियकरण, समाजवादी सिद्धान्तबमोजिम धनीलाई बढी कर लगाउने र गरिबका लागि लोकल्याणकारी योजना लागू गर्ने कामको सुरुवात गरे । नेपालको भूराजनीतिलाई बुझेर भारत र चीनसँग सन्तुलित परराष्ट्रनीति अवलम्बन गरे ।
समय बलवान छ । ४ सिटमा सीमित वामपन्थीले अपार सफलता हासिल गरेको छ भने संसदीय सिटमा केही फरक भए पनि कांग्रेसले त्यतिबेलाको कम्युनिस्ट पार्टीलाई उचित स्थान दिनैपर्ने थियो ।

 कोइराला परिवारका सदस्य तथा वामपन्थी नेता कमल कोइरालाको आलेखका आधारमा १८ महिनाको छोटो शासनकालमा भएका काम हेर्ने हो भने पनि बीपी राजनेता नै थिए। जननेता मदन भण्डारीको प्रकाशित अन्तर्वार्तामै समेत बीपी नै मदनले आफ्नो मन पर्ने नेता भन्नुभएको छ । जसरी चमेलीको फूल एक रातमै झर्छ । तर, पनि त्यसको वासना मानिसले सधैं सम्झिन्छन् । त्यसको ठीकविपरीत पलासको फूल ठूलो हुन्छ । लामो समयसम्म रहन्छ तर वासना नहुने भएकाले कसैले सम्झिँदैन ।

२००५ सालयता, ६ दशकको अवधिमा ४७ पटक सरकारको नेतृत्वमा फेरबदल भयो, २३ प्रधानमन्त्री बने । मुलुकको कार्यकारी प्रमुख हुनेमा आधाभन्दा बढी अर्थात् सात–छ जना कांग्रेस र कम्युनिस्टकै नेता छन् । सिद्धान्तअनुकूलको जीवनशैली, राष्ट्रियताबारेको अडान, तात्कालिक लाभभन्दा पनि देश र जनताको हितका पक्षमा लिएका निर्णयले बीपी सबैले सम्झिने राजनेता बने ।

समानता अनेक, विमति एक
बीपी उमेरमा पुष्पलालभन्दा १० वर्ष जेठा । भिन्न राजनीतिक दर्शनको नेतृत्व गरे पनि यी दुईबीच कैयौं समानता छन् । बिपी पहिले कम्युनिस्ट नजिक थिए, पुष्पलाल पहिले कांग्रेस नजिक बने । बीपी कांग्रेसका संस्थापक तथा सिद्धान्तकार, पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव र सिद्धान्तकार । दुवै परिवारका माइला छोरा । दुवैका बाबु क्रमशः भक्तलाल र कृष्णप्रसाद राणाकालमा खरिदार । सारा जीवन निष्ठा र आदर्शको राजनीतिका निम्ति खर्चेका बीपीलाई लामो समयसम्म अर्राष्ट्रिय तत्व र भारतीय दलालको आरोप लाग्यो । खासगरी यस्तो आरोप लगाउनेमा पञ्च र कम्युनिस्ट थिए । तत्कालीन नेकपाले नै कहिले राजासँग घाँटी जोडिएको त कहिले मित्रराष्ट्र भारतका लागि काम गर्ने नेताका रूपमा बीपीलाई हेर्ने गथ्र्याे । धेरैपछि मात्र बुझियो, वास्तवमा बीपी न राजावादी थिए न त भारतपरस्त ।

पुष्पलालको सन्दर्भमा पनि त्यस्तै संयोग परेको छ । २०१७ सालको ‘कु’पछि संसदीय व्यवस्था पुनःस्थापनाको पक्षमा उभिएका पुष्पलाललाई सहयात्री कम्युनिस्टहरूले नै ‘गद्दार’ को संज्ञा दिए । त्यही घटनाबाट आहत भएर राजनीति छोडेका काठमाडौंका प्रथम निर्वाचित मेयर जनकमान श्रेष्ठका अनुसार राजासँग चोचो–मोचो मिलाउनेहरूले नै पुष्पलाललाई गद्दार भनेका थिए । केशरजंग रायमाझीसहित धेरै नेता दरबार पसे । तर, राजाले बारम्बार बोलाउँदा पुष्पलाल भेट्नसमेत गएनन् ।


सहिद पुष्पलालका दाजु गंगालालका साथी गम्भीरमानमार्फत ‘भेट्न आउनू’ भन्ने सन्देश राजाले भारत प्रवासमै रहँदा पुष्पलाललाई पठाएका थिए । तर, पुष्पलालले जवाफ फर्काइदिए, ‘मैले भेट्नुपर्ने कुनै कारण छैन । हदै भए प्रधानमन्त्री खा भन्लान् । मलाई राजाले दिएको प्रधानन्त्री चाहिँदैन ।’ पुष्पलालका कान्छा भाइ विजयलालले भनेका छन्, ‘सिद्धान्त बेचेर मलाई कुनै लाभ लिनु छैन भन्ने सन्देश दिएर भेट्न मान्नुभएन ।’

थापाथलीमा तरुण दलको सम्मेलनलाई सम्बोधन गरिरहँदा सैन्य कब्जामा परेका प्रधानमन्त्री बीपीलाई पनि राजा महेन्द्रले पञ्चायत स्वीकार गरे जीवनभर सत्ताको केन्द्रमा राखिरहने प्रलोभन देखाए । राजाले बेलायती राजदूतमार्फत सुन्दरीजल बन्दीगृहमै खबर पठाएका थिए, ‘नाममात्र पञ्चायत राखे हुन्छ । त्यसबाहेक बीपीले बनाएको संविधान मान्न म तयार छु ।’ तर बीपीलेसम्झौता गरेनन् ।


राजनीतिक सिद्धान्तमा कट्टर भए पनि बीपी र पुष्पलाल दुवैले एकअर्काप्रति सधैं श्रद्धा भाव राखिरहे । पञ्चायत अन्त्यका लागि कांग्रेस, कम्युनिस्ट एकतामा सधैं पुष्पलालले जोड दिए । तर, सोसलिस्ट इन्टरनेसनलका नेता बीपीले कम्युनिस्टमाथि विश्वास गर्न सकिँदैन भनेर जीवनभर सहकार्य गर्न मानेनन् ,यस अर्थमा बीपी कम्युनिस्ट पार्टीप्रति निकै अनुदार र असहिष्णु थिए। उनको निधनपछि मात्र कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा वामपन्थीसँग कांग्रेसको सहकार्य भयो । वामपन्थी पक्षबाट यसको नेतृत्व पुष्पलालकी श्रीमती सहाना प्रधानले गरिन् । अनिमात्र २०४६ को जनआन्दोलनले पञ्चायत ढाल्यो ।

 पुष्पलालकै सैद्धान्तिक जगमा टेकेर मदन भण्डारीले जनताको बहुदलीय जनवादमार्फत कम्युनिस्ट पार्टीलाई चुनावी प्रतिस्पर्धामा उतारे र तत्कालीन नेकपा एमाले ‘ब्यालेट’बाटै सत्तामा पुग्यो । मनमोहन अधिकारी देशको पहिलो कम्युनिस्ट प्रधानमन्त्री भए भने माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई र केपी ओली गरी ६ जना मुलुकको कार्यकारी प्रमुख बने ।

जीवनभर कम्युनिस्टमा भर नगर्ने बीपीकै कान्छा भाइ गिरिजाप्रसादले नेतृत्व गरेको आन्दोलनले कम्युनिस्ट पार्टीहरूसँगकोसहकार्यमा २ सय ३८ वर्ष लामो राजतन्त्र अन्त्य गरी मुलुकमा गणतन्त्र बहाली गराए । बीपी र पुष्पलाल दुवै नेताले निष्ठा, आदर्श र सिद्धान्तका लागि जीवनपर्यन्त त्याग गरे तर राजनीतिक उपलब्धिको प्रतिफल देख्न पाएनन् । बीपीले झन्डै १० वर्ष जेल र त्यति नै समय भारत प्रवासमा बिताए । उनी सत्तामा पनि पुगे । केही समय गृहमन्त्री र प्रधानमन्त्री भए ।

२०१५ सालको चुनावमा नेपाली कांग्रेस, राजा र राणाको गठजोडमा गणेशमान सिंहसँग पराजित हुनुप¥यो पुष्पलालले । जबकी कम्युनिस्ट पार्टीको तर्फबाट पहिल्यै काठमाडौ नगरपालिकाको मेयर जितेका थिए जनकलाल श्रेष्ठले ।पुष्पलालले राजनीतिक लाभका पदमा रहने अवसर कहिल्यै पाएनन् । धेरै समय जेल, नेल नभोगे पनि लामो समय उनले प्रवासमा अभाव र कष्टपूर्ण जीवनयापन गरे । राजनीतिक अधिकार प्राप्तिका लागि संघर्ष गर्दागर्दै २०३५ साउन ७ मा पुष्पलाल र २०३९ साउन ६ मा बीपीको निधन भयो ।नेपाली क्रान्तिका नायकहरु पुष्पलाल र बीपी कोइरालाको आदर्शलाई कम्युनिस्ट र कांग्रेसले समग्रमा अनुसरण गर्नुपर्छ । बोक्नु पर्छ । सिद्धान्तलाई व्यवहारसित जोड्नु पर्छ ।

इतिहासका २ फूल पुष्पलाल र बीपी कोइरालाको क्रमश ४३ औं र ३९ औं स्मृति दिवसमा भावपूर्ण श्रद्धाञ्जली !

सम्बन्धित खबर