समाज एक, समस्या अनेक

सबिता सापकोटा २०८० पुष २२ गते १२:३८

समाजमा विभिन्न किसिमका मानिस बस्छन् । सबैको आर्थिक, सामाजिक र मानसिक अवस्था फरक फरक छन् । एउटै आमाले जन्माएका सन्तान पनि कोहि असल छन् भने कोही खराब, कोही धनी, कोही गरिब । दिनहुँ बेग्लाबेग्लै घटना हामी पढ्न, सुन्न र देख्न पाउंछाैं । घर, परिवार र समाजसँगै घटनाका प्रकार बेग्लाबेग्लै भेटिन्छन् । केही घटना घरभित्रै सीमित रहन्छन् भने केही घटनाले सामाजिक सञ्जालसँगै मानिसको दिमाग नै तताउँछन् । मान्छेहरु आधुनिक हुँदै गए तर समाजमा घटने घटनाक्रम उही पुरानै रह्यो । यो समाजमा पीडितहरु बढ्दै गए तर उनीहरुको आवाज सम्बन्धित निकायसम्म पुग्न सकेन ।


नागरिकका समस्या सरकारले सुनेन र सरोकारवालाले भोट मागेर जितेपछि जनतालाई बिर्सिए । समाजमा केही घटना घटेपछि मान्छेपिच्छे दर्ता भएका केही अनलाइन मिडियाले आफ्नो भ्युज बढाउनका लागि घटानाको स्वरुप नै फेरबदल गरेर बढुवा दिएर सेयर गर्न थाले । जसले गर्दा आपराधिक घटनाहरु झन् बढ्न थाले । हुन त समाजमा पीपडित पुरुषहरु पनि छन् तर पुरुषलाई छुट हुन थाल्यो । महिलाहरु पीडित पहिलेदेखि नै थिए अझै पीडामा परिरहे ।


मोबाइल हेर्दै गर्दा एउटा समाचार पढें । सामान्य विवादमा एक महिलाको वीभत्स हत्या । घरझगडाको विवादमा झापाको दमकमा बस्दै आएका धनबहादुर विश्वकर्माले ६० वर्षकी श्रीमतीलाई खुकुरी प्रहार गरी मारे । मैले चर्को आवाजमा समाचार पढें र नजिक रहेका पुरुष मित्रहरुलाई सुनाए ।
एउटाले सजिलै भनिदियोः धेरै बोली होला छप्काइदियो ।
अर्कोले भन्योः हिडने बेलामा गनगन गरिहोली, मारिदियो ।
सायद उसको बानीबेहोरा राम्रो थिएन होला, अर्को बोल्यो ।
‘समस्या जेसुकै होस्, सधै दोष महिलाको मात्र हुन्छ ?’ मैले उनीहरुलाई प्रश्न गरे ।

Advertisement

अरु देशले प्रगतिको फड्को मार्दा हामी राजनीतिका र सामाजिक परिवर्तनमै अल्झिरह्यौं, समाधानको खोज्नै सकेनौं


फरक परिवेशमा हुर्किएर आएका मनहरु एक भएपछि दुवैले सहनशक्ति बलियो बनाउनुपर्छ । महिलाहरु मात्र सहनशीलताका प्रतिमुर्ति होइनन् । दुवैको कर्तव्य एकअर्काको सम्मानमा बराबर हुन आवश्यक छ र एकले अर्काको कुरा सुन्न र बुझ्नपर्दछ ।
६० वर्षको उमेरमा यस्तो किन भयो होला ? मेरो मनमा धेरै प्रश्न उब्जिए । सामान्य घर झगडा प्राय सबै दम्पतीको घरआँगनमा हुन्छ । के सबै पुरुषले यस्तै बाटो रोजेर होला त ? मान्छेको ज्यानै लिने दानव प्रवृत्ति कहाँबाट विकसित भयो ? यस्ता घटनाको समाधान र न्यूनीकरण कसले गर्ने ? कानुन पनि बिक्री हुने यो देशमा केही समयका लागि हत्या गर्ने पुरुष जेल जान्छ र पैसाको पहुँचमा छुटन सक्छ । त्यसपछिको विकल्प के ?

Advertisement


आफनै श्रीमानबाट असुरक्षित हामी महिलाले कहाँबाट सुरक्षा पाइने ? यस्ता घटना देशका बिभिन्न ठाउँमा घट्ने गर्छन् । एक दिन समाचारमा आउँछ अनि त्यो घटना सेलाउँछ । मार्ने मान्छेले पाएको सजाए बाहिर आउँदैन । जसले गर्दा अन्य पुरुषले पनि यस्तै घटना नदोहो¥याउला भन्न सकिँदैन । विश्वका अन्य देशले प्रगतिको फड्को मारिरहँदा हामी भने देशको बेथिति, हत्या, महिला हिंसा आदि कुरामा अल्झिरहयौं र समाधानको विकल्प खोज्नै सकेनौं ।


समाजमा घटेको यो एउटा प्रतिनिधि घटनामात्र हो । कहिले नारी दाइजो नल्याएको निहुँमा मारिन्छन्, कहिले आफ्नै श्रीमानले बिजुली पोलमा बाँधेर हत्या गर्छन् । केही दिनअघि म्याग्दीमा २८ वर्षीया रेखा घर्ती आफ्नै श्रीमानबाट मारिइन् । उनका श्रीमानले जुत्ताको तुनाले घाँटी कसेर हत्या गरेका थिए । पछिल्लो समय महिलामाथि हुने हिंसा भयानक बन्दै गएको छ । ठाउँ ठाउँँमा यस्ता घटना घटिरहन्छन् । न पीडितले न्याय पाउँछन्, न यस्ता घटनाक्रम नै रोकिन्छन् । अझै कतिपय पीडित महिलाले समाजबाट खेप्नुपर्ने आरोप र बहिष्कारले उनीहरु आफ्ना समस्या भन्न नै डराउँछन् ।


प्रत्येक महिलाले आफूमाथि भएको हिंसाबारे आवाज उठाउन सके विस्तारै कुटपिट, जबरजस्ती करणी, सम्बन्ध बिच्छेद, यौनहिंसा लगायतका घटना कम हुँदै जाने छन् । त्यसैले आफूमाथि हुने अपराध वा हिंसाबारे महिलाले बोल्न जरुरी छ । बोल्दै सकिएन भने ज्यादतिको सामना र सुन्दर जीन्दगीको थालनी त अझ परको कुरा हुन जान्छ ।

तपाईको प्रतिक्रिया