साहित्य–पर्यटन सम्बन्धबारे विमर्श

समाधान संवाददाता २०८० असार ३ गते १२:५८

पोखरा ।
पोखरामा पर्यटन प्रवर्धनमा साहित्य सिर्जना विषयमा विमर्श भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिले शनिबार अनेसासको वार्षिक कार्ययोजना अन्तर्गत विमर्श, स्रष्टा सम्मान तथा रचनावाचन एकै साथ आयोजना गरेको हो ।


कार्यक्रमका वक्ताहरुले नेपाली साहित्यको अवस्था पहिरो चलिरहेको पहाडको फेदीमा रहेको घर जस्तो भएको जनाए ।

गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले अनेसास बोर्ड अफ ट्रस्टी सल्लाहकार रोहिणीप्रसाद शर्मालाई सम्मानसहित कार्यक्रम सुरुआत गरे ।

Advertisement


कुलपति गुरुङले राज्यमा सुशासन कायम नहुँदा राम्रा र क्षमतावान प्रतिभा पलायन हुने अवस्था भएको जनाए । गुरुङले थपे, ‘परदेशले क्षमतावान् नेपालीलाई ससुरालीमा पाउने सत्कार, सम्मान जस्तो योग्यताको कदर गर्ने भएकाले अधिकांश विद्वान् नेपाली परदेश भाँसिदा मलाई पीडा हुन्छ ।’ उनले राज्यले स्रष्टालाई जुन सम्मान दिनुपर्ने त्यो दिन नसकेको भन्दै चिन्ता गरे ।

उनले पर्यटनसँग साहित्यलाई जोड्न गृहकार्य आवश्यक रहेको औंल्याए ।

Advertisement


सम्मानित स्रष्टा शर्माले आफू इञ्जिनियरिङको विद्यार्थी भए पनि परदेशमा रहँदा देश दुख्नुको पीडाले भाषा, साहित्य र संस्कृति संरक्षणमा क्रियाशील बनेको जनाए । मुख्य वक्ता डा रामप्रसाद दाहालले पोखरा सुन्दर अनुहारको निधारमा लगाइएको टीका जस्तो भएको तर्क गरे । उनले स फेवा विनाको, वेगनास विनाको पोखरा कल्पना नहुने भएकाले त्यसको संरक्षणमा लाग्न सरोकारवालालाई सुझाए ।


लोकगायिका हरिदेवी कोइरालाले साहित्यलाई उत्पादनमूलक बनाउन पर्यटनसँग जोड्नुपर्ने जाइन् । प्राडा कुसुमाकर न्यौपानेले राज्यमा धेरै प्रकारका भ्रष्टाचार मौलाएको अवस्थामा स्रष्टाले सिर्जनाको भाषामा ध्यान नदिनु भाषिक भ्रष्टाचार भएको टिप्पणी गरे ।


कार्यक्रममा अनेसास नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडी, अनेसास गण्डकी अध्यक्ष दुर्गा शाह ‘बाबा’, उपाध्यक्ष दुर्गा न्यौपाने, महासचिव असफल गौतम लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया