स्वास्थ्य अनुसन्धानमा फड्को

समाधान संवाददाता २०७७ साउन ३० गते ९:४४

स्वास्थ्यसँग जोडिएको पाटो हो अनुसन्धान । नेपालको सन्दर्भमा स्वास्थ्य शिक्षा दिलाउने बग्रेल्ती संस्था छन् । तर ती संस्थाबाट अनुसन्धानको काम भने नगन्य रुपमा भएको छ । अझ अस्पतालका पछाडि रिसर्च सेन्टर खोल्ने तर रिसर्चको काम पटक्कै नगर्ने भए पनि अहिले त्यो प्रावधान नै हटाइएको छ । अनुसन्धाननै नगर्नेले ‘रिसर्च सेन्टर’ को फुर्को किन झुन्ड्याउनु ?


पढाइमा संलग्न विद्यार्थीहरुले यो भेगमा हुने रोकको प्रकृति त्यसले पारेका असरका बारेमा मात्रै पनि अनुसन्धान गर्ने हो भने त्यसले आगामी दिनमा नीति निर्माणमा मार्ग खुलाउने छ ।

गण्डकी प्रदेशकै पुरानो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत आएको छ । यही प्रतिष्ठानले साउन १ गतेबाट औपचारिक रुपमा पढाइ सुरु गरेको छ । ६ विषयमा १७ विद्यार्थी लिएर पहिलो चरणमा पढाइ स्नातकोत्तरमा थालिए पनि भविष्यमा यसको क्षेत्र विस्तार गर्दै जाने सोचमा छ प्रतिष्ठान । त्यसो त पोखरामा निजीस्तरका २ वटा कलेज पहिला नै छ । पोखरा र समग्र गण्डकी प्रदेशका बिरामीको उपचार सेवा र प्राध्यापनमा ती कलेजको पनि गतिले योगदान छ । मनिपाल मेडिकल कलेज त प्रदेशकै ठूलो र सुविधा सम्पन्न अस्पताल हो । जहाँ सार्क मुलुकका विद्यार्थीहरु एमबिबिएस अध्ययनका लागि आउने गरेका छन् ।

Advertisement

२०१२ सालमा स्थापना भएर जिल्ला, अञ्चल अस्पताल हुँदै क्षेत्रीय हुन सफल सरकारी संस्थाले पढाइ थाल्नु गौरवको विषय हो । २०५९ सालमै ५ सय सड्ढयामा विस्तार गर्ने निर्णय भएपछि पोखरावासीमा यो अस्पतालमा पनि काठमाडौंको वीर अस्पतालमा जस्तै पढाइ सुरु नगर्ने भन्ने विचार आयो । अस्पतालका संस्थापक मेजर वीरसिंह गुरुङको स्मृतिमा भएको कार्यक्रममा पहिलोपटक यो कुरा उठेको थियो । जुन परिकल्पनालाई साकार पार्न अस्पताल नेतृत्व र राजनीतिक दलका नेताहरु समेत लागी परे ।

२०७२ माघ १२ गते विधिवत रुपमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन पारित भएपछि संरचना अगाडि बढेको हो । त्यसो त मनिपाल मेडिकल कलेजको अस्पताल सञ्चालनमा नआउँदासम्म विद्याथीहरुले क्षेत्रीय अस्पतालमै पढेका हुन् । यस अघि पनि अनौपचारिक रुपमा प्राज्ञिक कार्यमा लागेको भए पनि यो वर्षबाट अब पढाइ नै सुरु भएको छ । जुन पढाइका लागि विद्यार्थीले १ रुपैयाँ पनि तिर्नु पर्दैन नेपाल सरकारले यसको प्रबन्ध गरिदिएको छ । अझै सिट थप्दै जाने योजना पनि प्रतिष्ठानले बनाएको छ ।

Advertisement

परिवर्तित अस्वस्थामा रोगका नयाँ प्रकारहरु देखिएका छन् । सरुवा रोगको प्रकृति फेरिएको छ । कोरोनाजस्ता नयाँ प्रजातिका भाइरसले विश्व जगतलाई नै आक्रान्त पारको छ । अझ मानिसको जीवनशैलीका कारण अहिले नसर्ने र बाहिर नदेखिने रोग र ती रोगले पार्ने असरको अवस्था भयावह छ । अबको शिक्षामा यी र यस्तै प्रकारका विषयहरुमा अनुसन्धान गरिनुपर्छ । स्वास्थ्य विज्ञानको पढाइ आफैमा व्यवहारमा आधारित हुन्छ । अर्थात् प्राक्टिस नै अधिक गर्नु पर्छ । यही प्राक्टिससँग अनुसन्धान गरेर त्यही अनुसारका सामग्री तयार पार्न सके त्यसले दीर्घकालीन रुपमै सकारात्मक प्रभाव पार्ने छ ।

पोखरामा सुरु भएको यो पढाइले विद्यार्थीमात्र होइन प्राध्यापनमा संलग्न चिकित्सकलाई समेत नयाँ नयाँ अनुसन्धानका लागि प्रेरित गरेको छ । पहिलो चरण भएकाले अनुभव र सोधपत्रका आधारमा उनीहरुलाई उप, सह र प्राध्यापकको उपाधि दिइएको छ । यसपछि आउनेहरुको अझ खोज र अनुसन्धानबाट खारिएका हुनेछन् । पढाइमा संलग्न विद्यार्थीहरुले यो भेगमा हुने रोकको प्रकृति त्यसले पारेका असरका बारेमा मात्रै पनि अनुसन्धान गर्ने हो भने त्यसले आगामी दिनमा नीति निर्माणमा मार्ग खुलाउने छ ।

तपाईको प्रतिक्रिया